मकवानपुर – जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बालश्रम निवारणका लागि शिक्षा र चेतनामा अभिबृद्धिका साथै सबैको सकारात्मक प्रयत्न आवश्यक रहेको बताउनुभएको छ । हेटौंडामा बिहीबार आयोजित बालश्रम निवारण सम्बन्धी जिल्ला स्तरीय छलफल कार्यक्रममा उहाँले समाजमा हुने बालश्रमलगायत विभिन्न बिकृतिको प्रमुख कारण शिक्षा र गरिबी भएकाले बालश्रमका मुद्धामा सबैले आआफ्नो क्षेत्रबाट काम गर्न आवश्यक रहेको बताउनुभएको हो ।

प्रमुख खुलालले सुखि नेपाली र समृद्ध नेपाल निर्माणको लक्ष्यला प्राप्त गर्न भौतिकसंगै सामाजिक विकास अपरिहार्य रहेको बताउनुभयो । उहाँले समुदायमा भौगोलिक अवस्था, गरिवि र शिक्षाको अभावका कारण बालश्रम हुने गरेको हुँदा सामुदायि चेतनासंगै भौतिक विकास भए मात्र विकास मान्न सकिने उहाँले बताउनुभयो । समाजमा रहेको आर्थिक विभेदकारी पद्धति र बढ्दो संवेदनहीनताले बालश्रमको समस्या थप जटिल र चुनौतीपूर्ण बन्दै गएको हुँदा यसमा सबै पक्षले काम गर्न जरुरी रहेको उहाँको भनाई थियो । उहाँले समाजमा हुने बालश्रमलगायत विभिन्न बिकृतिको प्रमुख कारण शिक्षा र गरिबी भएकाले यस विषयमा संघीय र प्रदेश सरकार, सामाजिक संघ संस्थासंगै स्थानीय तह विशेष सकृय भएर लाग्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख गोपाल प्रसाद कडेँलले वालश्रम निवारणका लागि सरकारी, गैरसरकारी र सामाजिक संघ संस्थाहरुले वार्षिक कार्यक्रम नै बनाएर कार्यान्वयन गर्दा समेत लक्ष्यमा पुग्न कठिन भईरहेको हुँदा यसलाई विशेष योजनाका साथ कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बालश्रम विशेषतः गरिबी र पारिवारिक विसंगतिसंग आवद्ध रहेको पाइएकोले त्यसको निवारणका लागि वालश्रममा पठाउने अभिभावकका साथै वालश्रमको प्रयोगकर्ता व्यवसायी, रोजगारदाता र समाजका प्रवुद्ध वर्गमा समेत सचेतना अभिबृद्धि आवश्यक रहेको बताउनुभयो ।

यस्तै श्रम कार्यालय हेटौंडाका निमित्त प्रमुख भीमप्रसाद शर्माले जिल्लामा बालश्रमको अवस्थाका बारेमा जानकारी गराउनुहुँदै श्रम कार्यालय सबैसंग सहकार्य गरेर अगाडी बढ्न तयार रहेको बताउनुभयो । कार्यक्रममा सीवीन बाल हेल्प लाईनका कार्यक्रम व्यवस्थापक भरत अधिकारीले २०८५ साल सम्म नेपाललाई बालश्रम मुक्त घोषणा गर्न कोरोना माहामारीका कारण थप चुनौति थपिएको बताउनुभयो । उहाँले नेपालमा १६ लाखबाट घटेर अहिले पनि १० लाख ८१ हजार बालबालिका बालश्रमिकका रुपमा रहेको पाईएको भन्दै यस विषयमा अझै संवेदनशिल हुन जरुरी रहेको बताउनुभयो । नेपालमा सबै भन्दा कम बागमती प्रदेशमा ९ दशमलव ९ प्रतिशत बालबालिका बालश्रमका क्षेत्रमा रहेको उहाँले बताउनुभयो । तीनै तहका सरकारले बालबालिकाको क्षेत्रमा राष्ट्रिय गौरव जस्तै योजना बनाएर अगाडी बढ्नु पर्ने उहाँकाे भनाइ थियाे ।

सिविन नेपालको आयोजना तथा श्रम तथा रोजगार कार्यालय मकवानपुरको समन्वयमा भएको कार्यक्रममा सिविन बाल हेल्प लाईन हेटौंडाका कार्यक्रम संयोजक झवेन्द्र ज्ञवालीले कार्यक्रमका बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रमा मकवानपुर जिल्लाका १० वटै स्थानीय तहका सामाजिक विकास शाखा र महिला तथा बालबालिका शाखाका प्रमुखहरु, बालबालिकाका क्षेत्रमा काम गर्ने विभिन्न सामाजिक संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको सिविन मकवानपुरकी कार्यक्रम अधिकृत सम्झना अधिकारीले जानकारी दिनुभयो ।