मकवानपुर – बागमती प्रदेश सरकारले प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईलाई पदमुक्त गरको छ । बागमती प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषद बैठकले चौलागाईलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
प्रदेशका विभागीय मन्त्री तथा परिषद् अध्यक्षसँग समन्वय नगरी काम गरेको, सोधीएको स्पष्टिकरणको जवाफ चित्त बुझ्दो नदिएको, पत्रकार सम्मेलन गरी परिषद्को आन्तरिक गोपनीयता भंग गरेको, परिषदको स्विकृति वेगर लोगो तथा स्लोगन सार्वजनीक गरेको, ऐन कानुनको बर्खिलाप गर्दै स्वेच्छाचारी गतिबिधिहरु गर्दै गएको भन्दै चौलागाईलाई बर्खास्त गरीएको बागमती सरकारका प्रबक्ता एवम् आन्तरीक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनालले जानकारी दिनुभयो ।
चौलागाईले केहि दिनअघि युवा तथा खेलकुद मन्त्रीले आफुलाई स्पष्टिकरण मागेको र राजनितिक प्रतिसोध राखेर पदमुक्त गर्न लागेको भन्दै आफुले गरेका कामहरुको बारेमा जानकारी दिदैं पत्रकार सम्मेलन गर्नुभएको थियो । चौलागाईलाई २०७८ जेठ २७ गते बसेको मन्त्रीपरिषदको निर्णयबाट प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले युवा परिषदको उपाध्यक्षमा नियुक्त गर्नु भएको थियो ।