मकवानपुर – बागमती प्रदेशमा तीन दिन प्रजातन्त्र दिवस मनाउने निर्णय भएको छ । दिवस मनाउनका लागि बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा ४२ सदस्य ‘प्रजातन्त्र दिवस २०७८ प्रदेश स्तरीय मूल समारोह समिति’ गठन गरिएको छ । मंगलबार समितिका अध्यक्ष तथा मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा बसेको बैठकले बागमती प्रदेश भर तीनदिन सम्म दिवस मनाउने निर्णय गरेको हो ।
दिवसलाई भव्य रुपमा मनाउन फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम गर्न आह्वान गरेको समितिका सदस्य सचिव एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिनुभयो । उहाँका अनुसार ६ गते सार्वजनिक स्थल सरसफाइ, ७ गते ¥याली र सभा तथा ८ गते नेपालको राष्ट्रिय झण्डात्तोलनसहित तीनै दिन दीपावली गर्ने निर्णय भएको छ ।
यस्तै बैठकले दिवसको अवसरमा मन्त्रालय, कार्यालय र सार्वजानिक स्थानको सरसफाइसहित नगर क्षेत्रको सरसफाई व्यवस्थापनको कार्यका लागि हेटौंडा उपमहानगरपालिकालाई जिम्मेवारी दिने निर्णय गरेको छ । भने, तीन दिन मन्त्रालय, कार्यालय सार्वजनिक एवम् सामूदायिक संघसस्था, शैक्षिक प्रतिष्ठान, निकाय र घरघरमा दिपावली गर्न आह्वान गरेको छ ।
यस्तै बैठकले साइकल राइडरहरुको सहभागितामा राष्ट्रिय झण्डा व्यानर सहितको साइकल ¥यालीको जिम्मेवारी आन्तरीक मामिला तथा कानुन मन्त्रालयलाई दिएको छ । दिवसमा सुरक्षा निकायहरुले संयुक्त रुपमा सलामी प्रदान गर्ने कार्यको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय मकवानपुरले गर्ने निर्णय भएको कानुन मन्त्री खनालले जानकारी दिनुभयो ।
यस्तै सञ्चार क्षेत्रबाट परिसंवाद कार्यक्रम सञ्चालन गर्ने र प्रचारप्रसारको जिम्मेवारी पत्रकार महासंघ बागमती प्रदेश समितिलाई दिइएको छ । दिवसको पहिलो दिन मुख्यमन्त्री कार्यालयमा प्रदेश प्रमुखसहित मूल समारोहका पदाधिकारीको उपस्थितिमा संक्षिप्त कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रदेश स्तरीय मूल समारोह समितिमा मन्त्री, मन्त्रालयका सचिव, सेना, प्रहरी, सशस्त्र प्रहरी तथा सञ्चारकर्मीलाई समेटिएको छ ।











