मकवानपुर – बागमती प्रदेश सरकारले फागुन अन्तिम साताबाट प्रदेश खेलकुद प्रतियोगिता–२०७८ आयोजना गर्ने भएको छ । फागुन २८ गतेदेखि चैत ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ वटा खेल समावेश हुने प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ ।
प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीका अनुसार प्रतियोगितामा फुटबल, क्रिकेट, भलिबल, तेक्वान्दो, कराते, एथ्लेटिक्स, बक्सिङ र ब्याड्मिन्टन खेललाई समावेश गरिएको छ । प्रतियोगिताको उद्घाटन हेटौँडामा र समापन चितवनमा हुने गरी तयारी अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो । प्रतियोगिताका लागि करिब ८ करोड ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडी पालिका र जिल्लास्तरीय प्रतियोगिताबाट छनौट गरिनेछ । प्रदेशका ११९ वटै स्थानीय तहबाट छनौट भएका खेलाडीले जिल्ला प्रतिस्पर्धामा सहभागी भएर प्रदेशमा मेडलका लागि खेल्ने उहाँले बताउनुभयो ।