सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित मस्यौदा कार्यदलले आज न्यूनतम साझा कार्यक्रमको मस्यौदालार्इ अन्तिम रूप दिने बताएको छ । मस्यौदालाई अन्तिम रूप दिन एमाले तथा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक आज बिहान ११ बजे बस्दैछ। अर्थ मन्त्रालयमा बिहीबार पनि कार्यदलको बैठक बसेको थियो । हिजोको बैठकमा कार्यदलका सदस्य नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अस्वस्थताका कारण अनुपस्थित भएपछि बिहीबारको बैठकले न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप नदिएको हो ।
कार्यदलका संयोजक तथा उपप्रधानमन्त्री विष्णु पौडेलले बिहान ११ बजे बस्ने बैठकले मस्यौदालाई अन्तिम रूप दिने जानकारी दिनुभयो। पौडेलले साझा कार्यक्रमको ड्राफ्ट तयार भइसकेको पनि बताउनु भयो। उहाँले सरकारमा सहभागी हुने विभिन्न राजनीतिक दलको सुझाव समेट्दै ड्राफ्ट तयार भएको बताउनुभयो। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बनेको कार्यदलमा साझेदार दलका १–१ जना सदस्य हुनुहुन्छ। सत्ता गठबन्धनमा सात दल रहे पनि जनमत पार्टी र नागरिक उन्मुक्तिका तर्फबाट भने कार्यदलमा प्रतिनिधित्व छैन।