मकवानपुर – मकवानपुर प्रहरीले तोकिएको भन्दा बढी (ओभरलोड) बोक्ने ९७ वटा टिपरलाई कारवाही गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मनहरीले भारवहन क्षमता भन्दा बढी (ओभरलोड) ढुवानी गर्ने ९७ टिपरलाई कारबाही गरेको हो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–११, मनहरी–६ र हेटौंडा–१ स्थित तिर्तिरेधारामा सुरक्षाजाँच गर्ने क्रममा ओभरलोड बोक्ने ९७ वटा टिपरलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले ४३ वटा टिरलाई जरिवाना गरेर ४३ हजार रुपैयाँ राजश्व असुली गरेको र जरिवाना तिर्न नगद रकम नहुनेको ५४ वटा टिपरको कागजपत्र लिएर पुर्जी काटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभएको छ । हेटौंडा बजार क्षेत्रमा टिपरले तोकिएभन्दा बढी लोड बोक्ने गरेको गुनासोका आधारमा प्रहरीले सक्रियता देखाएको हो । कारबाहीमा परेका टिपरहरु हेटौंडा स्थित सिमेन्ट उद्योगको ढुङ्गा बोक्ने रहेको प्रहरीले जनाएको छ ।