फाइल फाेटाे

काठमाण्डाै – संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइमार्फत हुने नियुक्तिलाई समावेशी र समानुपातिक बनाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ । संसदीय सुनुवाइ विशेष समितिको आज सिंहदरबारमा बसेको बैठकले संवैधानिक निकायको नियुक्ति र राजदूत नियुक्तिलाई समावेशी तथा समानुपातिक बनाउनेबारे प्रधानमन्त्री देउवासँग छलफल गर्ने निर्णय गरेको हो ।
त्यसका लागि समितिका सभापति लक्ष्मणलाल कर्णलाई प्रधानमन्त्री देउवासँग समय मिलाएर समितिको अर्काे बैठक बोलाउन जिम्मेवारी दिइएको सङ्घीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिनुभयो । संसदीय सुनुवाई समितिले यसअघि पनि संवैधानिक निकायमार्फत हुने नियुक्तिलाई समावेशी र समानुपातिक बनाउन सरकारलाई निर्देशन दिएको थियो । तर त्यसको कार्यान्वयन नभएपछि प्रधानमन्त्री देउवासँगै छलफल गर्ने निष्कर्षमा समितिमा पुगेको पनि उहाँले बताउनु भयो । आजको बैठकमा समितिका सदस्यहरुले संविधानमा संवैधानिक निकाय र राजदूत नियुक्ति समावेशी र समानुपातिक हुने व्यवस्था गरिए पनि सरकारले व्यवस्था अनुसार गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।