मकवानपुर – मकवानपुरमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको स्वास्थ्य कार्यालयले जनाएको छ । बुधबार जिल्लामा थप २ सय ४६ जनामा संक्रमण पुष्टि भएसंगै सक्रिय संक्रमितको संख्या एक हजार नाघेको हो ।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार जिल्लामा हाल सक्रिय संक्रमितको संख्या १ हजार ९० पुगेको छ । कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १ सय ९२ जनाको स्वाब परीक्षण गर्दा १ सय ५५ जनामा र एन्टिजेन विधिबाट १ सय ४५ जनाको स्वाब परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या बढेपनि संस्थागत आइसोलेसनमा बस्नेको संख्या ज्याँदै न्यून रहेको छ । सकृय संक्रमित मध्ये संस्थागत आइसोलेसनमा जम्मा ६ जना र होम आइसोलेसनमा एक हजार ८४ जना उपचाररत रहेको कार्यालयले जनाएको छ ।
हेटौंडाका विद्यालयमा दोस्रो मात्रा खोप लगाउन सुरु
यसैबीच हेटौंडा उपमहानगरक्षेत्रका विद्यालयमा कोरोना बिरुद्धको दोस्रो मात्रा खोप लगाउन सुरु गरिएको छ । उपमहानगरपालिकाले नगरक्षेत्र भित्रका १२ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीलाई कोभिड–१९ विरुद्धको दोस्रो मात्रा खोप लगाउन सुरु गरेको हो ।
दोस्रो डोजको खोप मोडर्ना लगाउन सुरु गरिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो । नगर क्षेत्रका विद्यालयमा माघ १५ गतेसम्ममा विद्यार्थीलाई खोप लगाइसक्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो ।