काठमाण्डौ – सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई समेत बदर गरिदिएपछि एमाले र माओवादी केन्द्र दल बिउँतिएका छन् । दुई दल २०७४ सालको प्रतिनिधि सभा चुनावमा मिलेर गएका थिए । दुई दल मिलेर चुनावमा गए पनि उम्मेदवार भने एमाले र माओवादीका फरक–फरक व्यक्ति नै थिए ।
दुई सय ७५ सदस्यीय प्रतिनिधि सभाको सिटका लागि २०७४ सालको मङ्सिरमा चुनाव भएको थियो । प्रतिनिधि सभाको चुनावमा तत्कालीन एमालेले प्रत्यक्षतर्फ ८० र समानुपातिकमा ४१ सिट गरी एक सय २१ सिट जितेको थियो । यस्तै माओवादी केन्द्रले प्रत्यक्षतर्फ ३६ र समानुपातिकमा १७ गरी ५३ सिट जितेको थियो । यस्तै नेपाली कांग्रेसको प्रत्यक्षतर्फ २३ र समानुपातिकमा ४० गरेर ६३ सिट छ । प्रतिनिधि सभामा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छन् । राष्ट्रिय सभामा भने एमालेका २७, कांग्रेसका १३ र माओवादी केन्द्रका १२ सदस्य रहेका छन् ।
सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता खारेज गर्दै ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिएको छ । निर्वाचन आयोगले त्रुटिपूर्ण निर्णय गर्दै ओली–प्रचण्ड समूहको नेकपालाई आधिकारिकता दिएको भन्दै सर्वोच्चले ऋषि कट्टेल अध्यक्ष रहेको नेकपालाई आधिकारिकता दिएको हो ।