हेटाैंडा – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रुघाखोकी जस्ता लक्षण देखिए क्वारेनटाइनमा बस्न आग्रह गरेकाे छ । मन्त्रालयले रुघाखोकी जस्ता सङ्क्रमणको लक्षण देखिए ५ दिनसम्म क्वारेनटाइन बस्न आग्रह गरेको हाे । मन्त्रालयको आजको प्रेस ब्रिफिङमा इपिडियोमोलोजी तथा रोग महाशाखा प्रमुख कृष्णप्रसाद पौडेलले व्यक्तिमा रुघाखोकी, घाँटी दुख्ने जस्ता लक्षण देखिए ५ दिन क्वारेनटाइनमा बसी स्वास्थ्य परिक्षण गर्न आग्रह गर्नुभयाे । ओमिक्रोन सङ्क्रमणले अस्पताल बस्नुपर्ने तथा अक्सिजन लिनुपर्ने जस्ता जटिल अवस्था कम आउने अध्ययनले देखाए पनि छिटो र बढी सङ्क्रामक भएकोले सुरक्षाको मापदण्ड अनिवार्य अपनाउन उहाँले अनुरोध गर्नुभयो ।
औषधि अभाव छैन: स्वास्थ्य मन्त्रालय
यस्तै आवश्यक पर्ने सबै औषधी तथा उपकरण अभाव नभएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । हाल सरकारी फार्मेसीमा १ करोड बढी र पथ्लैया भण्डारणमा १० लाख प्यारा सिटामोल भण्डारणमा रहेको जानकारी मन्त्रालयका सह प्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिनुभयो । डा. अधिकारीले अत्यावश्यक औषधीहरूको विवरण तत्काल अद्यावधिक गर्न सबै सरकारी अस्पताल तथा प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रलाई समेत निर्देशन गरिएको जानकारी गराउनुभयो ।
यस्तै, स्वास्थ्य मन्त्रालयले कोरोना सङ्क्रमणको परीक्षणका लागि शुल्क घटाइएको जानकारी गराएको छ । सङ्क्रमणको लक्षण देखिएकालाई सरकारी अस्पतालहरूमा निशूल्क परिक्षण हुने र लक्षण नदेखिएका तथा अन्य प्रयोजनको लागि परिक्षण गर्न ८ सय रुपैयाँ र निजी प्रयोगशालाहरूमा १ हजार ५ सय परिक्षण शुल्क तोकिएको मन्त्रालयका सह प्रवक्ता डा. अधिकारीले बताउनुभयो ।