बकैया । नेकपा एमालेका केन्द्रीय सदस्य एवं मकवानपुर सह–ईन्चार्ज तथा मकवानपुर क्षेत्र नंबर १ का सांसद कृष्ण प्रसाद दाहालले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अडानले दोस्रो संविधानसभाबाट संविधान जारी हुन सकेको बताएका छन् । मंगलबार पूर्वी मकवानपुरको बकैया-१० मन्थलीको धुवाँकोटमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले एमालेको अडानले मात्र संविधान जारी हुन सफल भएको बताए । उनले संविधान जारी नगर्न देशी विदेशी शक्ति सक्रिय रहेको अवस्थामा अध्यक्ष ओलीको अडानले संविधान जारी हुन सकेको बताए ।
२०६४ सालमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको बहुमतको सरकारले पहिलो संविधानसभा बाट संविधान बनाउन नसकेपछि दोस्रो संविधानसभामा एमाले देशको दोस्रो शक्तिको रुपमा उदाउँदा पार्टी अध्यक्ष केपि ओलीको अडानको कारण संविधान जारी हुन सकेको स्मरण गरे । उनले भनेः जनताको संविधान ल्याउन कांग्रेस,माओवादी लगाएतको राजनीतिक दलको भूमिका रेहको छ तर संविधान जारी नगर्न विभिन्न चलखेल रहेको अवस्थामा एमालेको अडानले मात्र संविधान जारी हुन सक्यो । ‘अध्यक्ष ओलीले अडान नलिएको भए संविधान आउँदैथो,संविधान बनेपछि भारतले नाकाबन्दी लगायो । नाकाबन्दी पछि ओली सरकारमा आएर ९ महिनासम्म नाकाबन्दीलाई सामाना गरेर,नाकाबन्दी खोले । ओली सरकारमा रहँदा गुमेको भूमि नक्सा सार्वजनिक देखि देशमा चौतर्फी राजमार्ग विस्तार,बिद्युतिकरण,स्वास्थ्य श्रेत्रमा महत्वपूर्ण कामहरु भयो ।’ दाहालले भने ।
उनले आफु सांसद भएदेखि यहाँको विकास निर्माणको कामहरुलाई अघि बढाउँदै लगिरहेको बताए । उनले आउँदो एक वर्ष भित्र बकैयाको सबै वडामा विद्युत पुग्ने समेत बताए । उनले कृषिलाई जिविको पार्जनलाई मात्र नलिई व्यवसायीकरण गर्न समेत आग्रह गरे । उनले विदेशमा गर्ने परिश्रम स्वदेशमै गर्नुपर्ने बताउँदै स्थानीय,प्रदेश र केन्द्र सरकारले अनुदान दिईरहेको बताए । उनले एमाले ‘सुखी नेपाली र समृद्ध नेपाल’ को अभियानमा निरन्तर अघि बढेको बताए । मंगलबार बकैया-१० कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका नेता रघुनाथ लामिछाने सहित एक दर्जन विभिन्न पार्टीका सक्रिय सदस्यहरु एमाले प्रवेश गरेका छन् ।
उक्त पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी, नेपाली कांग्रेस परित्याग गर्दै बुद्धिमान दियाली,सुमित्रा दियाली,सोम बहादुर बिक,सुर्य वाईवा,सुनमाया स्याङ्तान, गोकुल खड्का लगाएत एक दर्जन एमाले प्रवेश गरेका हुन् । उनिहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवं मकवानपुर सह–ईन्र्चाज तथा मकवानपुर क्षेत्र नंबर १ का सांसद कृष्ण प्रसाद दाहालले टिका र खादा लगाएर एमालेमा स्वागत गरेका हुन् ।
जनताको भविष्यको लागि पुनः एमालेमै फर्किए
पार्टी प्रवेश कार्यक्रममा बोल्दै माओवादीबाट एमालेमा प्रवेश गरेका लामिछानेले आफु पुनः एमालेमा फर्किएको बताए । लामिछानेले पहिलेनै एमालेमा रहेको विभिन्न कारणका कारण माओवादीमा लागेको तर पछिल्लो राजनीतिक घटनाक्रम र जनताको भविष्यको लागि पुनः एमालेमै फर्किएको बताए । गाउँको एक दर्जन भन्दा बढी समस्याको समाधानको लागि पहल गर्नुपर्ने बताउँदै उनले उक्त समस्याको पहल माओवादीबाट हुन नसक्ने बताउँदै आफु एमालेमै फर्किएको बताए । उनले एमाले सरकारले मात्र जनताको समस्या समाधन हुनसक्ने बताए । उनले बकैया–१० को सबै क्षेत्रमा सडक,बिद्युतिकरण,स्वास्थ्य,स्तरीय शिक्षाको लागि पहल गर्न समेत ध्यानाकर्षण गरे ।
एमाले प्रवेशको जनलहर पाँच दलिय सत्ता गठबन्धन आत्तियो,स्थानीय निर्वाचनको तयारी थालेनः कमल विष्ट
यसैगरि,कार्यक्रममा बोल्दै एमाले बागमती प्रदेश सदस्य कमल विष्टले एमाले ४१ महिना सरकारमा रहँदा गरेको विकास निर्माणको कामले अहिले एमाले सरकारमा नरँहदा पनि देश एमालेमय बनेको बताए । उनले पार्टीका अध्यक्ष केपी शर्मा ओली सरकारमा रहँदा गरेको कामहरुले देश एमालेमय भएको बताए । उनले एमालेमा प्रवेश गर्नेको जनलहरले पाँच दलीय सत्तागठबन्धन सरकार आत्तिएको बताए । उनले चैतको पहिलो हप्तामा स्थानीय निर्वाचन गराउनुपर्ने समय आएको बताउँदै गठबन्धन सरकारले कुनै तयारी नगर्दा स्थानीय सरकारलाई कर्मचारीबाट चलाउने रणनीति बनाएको टिप्पणी गरे । उनले स्थानीय तहलाई कर्मचारीबाट चलाउँदा विकास निर्माणका कामहरु ठप्प हुने बताउँदै स्थानीय निर्वाचन समयमै गराउन खबरदारी आवश्यक रहेको समेत बताए ।
उनले कांग्रेसले धेरैपटक सत्ता चलाएको तर विकासका कामहरु गर्न भने नसकेको बताए । उनले एमाले सरकारमा गएपछि मात्र विकासका कामहरु अघि बढ्ने बताउँदै एमालेलाई पुनः सरकारमा लैजानुपर्ने बताए । उनले एमालेले सरकारमा रहँदा गरेको विकासका कामहरुले आउँदो स्थानीय,प्रदेश र केन्द्र निर्वाचनमा एमालेको बहुमत आउने विश्वास व्यक्त गरे । उनले एमालेले सडक,स्वास्थ्य शिक्षा क्षेत्रमा छुट्टाएको योजना तथा बजेट गठबन्धन सरकारले खारेज गर्दै कामहरु रोकेको बताए । उनले एमाले सरकारमा रहँदा भूमिहिन दलिल,सुकुम्बासी तथा अव्यवस्थितलाई जग्गाको स्वामित्व पूर्जा दिन भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेर काम सुरु गरेर अन्तिम चरणमा पुग्दा सरकार परिर्वन हुदाँ कांग्रेस–माओवादीको पाँच दलीय गठबन्धन सरकारले खारेज गरेको बताए ।
विष्टले अदालतको साहारामा बनेको पाँच दलीय सरकारले जनताको हितमा कुनैपनि कामहरु अघि बढाउन नसकेको समेत बताए । उनले हालको वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा सरकारले विकास निर्माणको कामहरु गर्न नसक्ने टिप्पणी गरे । उनले देउवालाई पुर्व राजा ज्ञानेन्द्र शाहले असक्षम भन्दै प्रधानमन्त्री पदबाट हटाएको स्मरण गर्दै कांग्रेसबाट कुनै पनि विकासका कामहरु हुन नसक्ने बताए । उनले सुखि नेपाली र समृद्ध नेपालको अभियानलाई साकार गर्न लागि एमाले पुनः सरकारमा आउनुपर्ने बताए । उनले पार्टीका कार्यकर्ताहरुलाई अरुको आश्वासनमा विश्वास नगरि आफ्नै स्वरोजगारमूलक कृषि,उद्योग,व्यवसायिक उत्पादनमूलक कामहरु गर्न अनुरोध गरे ।
एमाले बजबुद भए मात्र विकास निर्माणका कामहरु सुनश्चित हुनसक्नेः पद्मा पौडेल
पार्टी प्रवेश कार्यक्रममा बोल्दै एमाले बागमती प्रदेश सदस्य पद्मा पौडेलले एमाले बजबुद भए मात्र विकास निर्माणका कामहरु सुनश्चित हुनसक्ने बताईन् । उनले पाँच दलीय गठबन्धन सरकार आफ्नो भागबन्डा मिलाउन मात्र व्यस्तता र आन्तरिक कलहमा रहँदा जनताको जनजिविका सहज तर्फ ध्यान नगएको टिप्पणी गरिन् । उनले स्थानीय,प्रदेश र केन्द्रको निर्वाचन आउन लागेको बताउँदै सबैको भविस्य सुनिश्चिताको लागि एमालेलाई वडा देखि केन्द्रसम्म विजयी बनाउनुपर्ने बताईन् । उनले आवश्यक स्थानमा बजेट ल्याउन काम गर्न,सडक विस्तार गर्न,स्तरीय शिक्षा,पुर्वाधार विकास,कृषि आधुनिकरण,मल तथा बिउबिजन लगाएत जनजिविकाको लागि एमाले सरकारमा आउनुपर्ने जिकिर गरिन् । उनले पार्टीको भातृ संगठनहरुलाई बलियो बनाउँदै संगठन विस्तारलाई अघि बढाउँदै एमाले एकिकृत भएर अघि बढ्नुपर्ने बताईन् । यसैगरि,पार्टी प्रवेश कार्यक्रममा बोल्दै एमाले मकवानपुर कमिटीका नवनिर्वाचित जिल्ला सदस्य दलबहादुर वाईवा,कृष्ण प्रसाद चौलागाई र सरला बोलखेले बकैयामा पार्टी संगठन विस्तार र नजिकिदै गरेको स्थानीय निर्वाचनको तयारीमा जुट्न अनुरोध गरेका छन् । उनिहरुले स्थानीय सरकार आएसंगै मन्थलीमा विकास निर्माणका कामहरु तिब्र भईरहेको बताए ।
युवा संघ,अनेमसंघ र खेलकुद महासंघ बकैया १० कमिटी गठन
कार्यक्रममा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल,अखिल नेपाल महिला संघ (अनेमसंघ) र खेलकुद महासंघको १० नंबर वडा कमिटी गठन भएको छ । कार्यक्रममा कमल घलानको अध्यक्षतामा २१ सदस्सीय राष्ट्रिय युवा संघ नेपाल वडा कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा अप्सरा नेपाल,सचिवमा अशोक घिमिरे र सहसचिवमा तेज वाईवा सर्वसम्मत चयन भएका छन् । यसैगरि, अनेमसंघ १० नंबरको अध्यक्षमा लिला घिमिरे सर्वसम्मत चयन भएकी छन् । ५० सदस्सीय कमिटीको उपाध्यक्षमा विना भोम्जन,सचिवमा अप्सरा नेपाल,सहसचिवमा रंजना घिमिरे र कोषाध्यक्षमा सिता थिङ चयन भएकी छन् ।
यसैगरि,खेलकुद महासंघ वडा कमिटीको अध्यक्षमा जोसेप वाईवा चयन भएका छन् । वाईवाको नेतृत्वमा ९ सदस्सीय वडा कमिटी बनेको हो । कमिटीको उपाध्यक्षमा सुमन पाख्रिन,सचिवमा साजन भोम्जन,सचिवमा विरबहादुर भोलन,सहसचिवमा तिमोथि डिम्डुङ चयन भएका छन् । एमाले बकैया १० वडा कमिटीका वडा अध्यक्ष राजकुमार गोलेको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य कृष्ण प्रसाद दाहाल,एमाले बागमती प्रदेश सदस्यद्वय कमल विष्ट,पद्मा पौडेल,एमाले मकवानपुर जिल्ला सदस्यहरु दल बहादुर वाईवा,कृष्णप्रसाद चौलागाई,नरहरी महत,बेलप्रसाद दाहाल,सरला बोलखे,निरमाया भोम्जन,पूर्व जिल्ला सदस्य नजरमान भोम्जन,एमाले बकैयाका अध्यक्ष गोपालप्रसाद दाहाल,ईन्द्रबहादुर स्याङ्तान,बकैया युवा संघ संयोजक विजय वाईवा लगाएताको आतिथ्यता रहेको थियो ।