बीरगंज – वीरगन्जलाई प्रदेश नम्बर २ को राजधानी बनाउनुपर्ने माग गर्दै आज नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्सा र नगर कार्य समितिको संयुक्त आयोजनामा दबाबमूलक जुलुस प्रदर्शन गरिएको छ । मुलुकै प्रमुख आर्थिक केन्द्र एवं व्यापारिक नगरीको रुपमा रहेको वीरगन्जलाई पाखा लगाउँदै जनकपुरलाई राजधानी बनाउन खोजेको भन्दै आक्रोशित नेपाली काँग्रेस पर्सा र वीरगन्जवासी सडकमा उत्रिएका हुन् ।
वीरगन्जलाई प्रदेश २ को राजधानी कायम गर भन्ने नाराका साथ नेपाली कांग्रेस सहित नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल, नेपाल महिला सङ्घ लगायतका भातृ संस्थाहरूको सहभागितामा वीरगन्जको घण्टाघरबाट निस्किएको दबाब र्‍यालीले नगर परिक्रमा गरेको थियो । मधेस आन्दोलनलाई सार्थक बनाउन वीरगन्जले खेलेको भूमिका र सहिदहरूको बलिदानको मूल्याङ्कन गरेर वीरगन्जलाई प्रदेश २ को राजधानी कायम गर्नुपर्ने माग काँग्रेसका नेताहरूले गरेका छन् ।
वीरगञ्ज राजधानी बनाउने विपक्षमा उभिने प्रदेश सभा सदस्यहरूलाई जनताले कारबाही गर्ने चेतावनी समेत वक्ताहरूले दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य राजेश्वर साह तेलीले प्रदेश २ को एक मात्र महानगरपालिका रहेको बीरगंज आर्थिक र भौतिक रूपले समेत राजधानीका लागि उपयुक्त रहेको दाबी गर्नुभयो । नेपाली कांग्रेस वीरगन्ज नगर समितिका सभापति भोला साह कलवारको अध्यक्षतामा कार्यक्रम भएको थियो ।