मकवानपुर – मकवानपुरको थाहा नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि पालिकाभित्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । नगरपालिकाले पालिकाभित्रका सबै विद्यालयमा स्थानीय पाठ्क्रम ‘थाहा ज्ञानमाला’ तयार पारेर आगामी शक्षिक सत्रदेखि लागू गर्ने तयारी गरेको छ ।
नगरपालिकाले दुई चरणमा पाठ्यक्रम लागू गर्ने योजना बनाएको मेयर लवशेर विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार, नगरपालिकाले पहिलो चरणमा पालिकाभित्रका कक्षा १ देखि ५ सम्म आगामी वर्षदेखि ‘थाहा ज्ञानमाला’ को पठनपाठन सुरु गर्ने र दोस्रो चरणमा ६ देखि ८ कक्षासम्म पाठ्यक्रम लागू गर्ने बताउनुभयो । त्यसका लागि नगरपालिकाले १ देखि ५ कक्षासम्मको स्थानीय पाठ्यक्रम तयार गरेर पाठ्यपुस्तक छपाइ अन्तिम चरणमा पु¥याएको विष्टले बताउनुभयो । कक्षा ६ देखि ८ सम्मको भने पाठ्यक्रम मात्र निर्माण गरिएको उहाँले बताउनुभयो । अब केही दिनभित्रै १ देखि ५ कक्षासम्मको पुस्तक छपाइको काम सुरु हुने उनको भनाइ छ । ६ देखि ८ कक्षाको हकमा भने दोस्रो चरणमा लागु गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तकमा दार्शनिक रुपचन्द्र विष्ट र थाहा अभियानबारे सामान्य जानकारी मात्र समावेश गरिएको छ । ती कक्षाका बालबालिकाका लागि आवश्यक र बुझ्न सक्ने प्रकृतिको पाठ्य सामग्रीहरु समावेश गरिएको थाहा नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । शिक्षा शाखाका अनुसार रूपचन्द्र विष्टको उपनाम र विशेषताका बारेमा मात्र साना कक्षाका बालबालिकालाई पढाउने योजना अनुसार सामान्य जानकारी पुस्तकमा समावेश गरिएको छ । ती कक्षाका विद्यार्थीले रुपचन्द्र विष्टका समाज सुधारका सूचकका बारेमा पनि पुस्तकबाट सिक्न सक्ने बताईएको छ । यस्तै शिक्षामा विपन्न बालबालिकाको पहुँच पुभ्याउन रूपचन्द्र विष्टले गरेका योगदान, समाज सुधारका लागि आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रका योगदान, थाहानगरपालिकाको नामकरण, थाहा नगरपालिका क्षेत्रको भौगोलिक अवस्था, खोला, नाला, वोटविरुवा र हावापानीको विषय पुस्तकमा समावेश गरिएको जनाईएको छ ।