मकवानपुर – बागमती प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ६ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ । बागमती प्रदेशतर्फको रिक्त दुई सिटमा आगामी माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार ६ जनाले मनोनयन दर्ता गराउनु भएको हो ।
मनोनयन दर्ताको कार्यसुचि अनुसार मंगलबार हेटौंडा–५ स्थित बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा सत्तारुढ गठबन्धन दलका दुई जना, नेकपा एमालेका तर्फबाट दुईजना र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का दुई जना गरी ६ जनाले मनोनयन दर्ता गारउनु भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लुमनाथ पोखरेलले जानकारी दिनुभयो ।
राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन दलका तर्फबाट महिलामा नेकपा (एस) बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेलले उमेदवारी दर्ता गराउनुभएको छ । गठबन्धनका तर्फबाट उमेदवार बन्नुभएकी तिमल्सिनाको प्रस्तावकमा मुनु सिग्देल र समर्थकमा सीता अधिकारी हुनुहुन्छ भने पौडेलको प्रस्तावकमा इन्द्रबहादुर बनियाँ हुनुहुन्छ र समर्थकमा राजन प्रसाद ढकाल हुनुहुन्छ ।
त्यसैगरी नेकपा एमालेबाट महिलामा निरकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्यले उमदवारी दर्ता गराउनुभएको छ । एमालेका तर्फबाट उमेदवार बन्नु भएका नीरकुमारीको प्रस्तावकमा पुर्व मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा बकैया गाउँपालिका उपाध्यक्ष सरला बोलाखे तथा शाक्यको प्रस्तावकमा प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ र समर्थकमा विजय सुवेदी हुनुहुन्छ ।
त्यस्तै नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्ण बहादुर तामाङले मनोनयन दर्ता गराउनु भएको छ । नेमकिपाबाट काफ्लेको प्रस्तावकमा सुनिल प्रजापति र समर्थकमा राजनी जोशी हुनुहुन्छ । भने तामाङको प्रस्तावकमा सूर्यराज गोसाईँ र समर्थकमा सृजना सायजु हुनुहुन्छ ।
निर्वाचन कार्यालयका अनुसार भोलि २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने कार्यक्रम रहेको छ । यस्तै २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने सोही दिन उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने जनाएको छ । आगामी माघ १२ गते बिहान ९ देखि ३ बजेसम्म हेटौँडा–८ मा स्थित औधेगिक क्षेत्रको चौरमा मतदान हुने पोखरेलले जानकारी दिनुभयो । राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा ३४६ मतदाता रहेका छन् ।