मकवानपुर – मकवानपुरमा शनिबारबाट जारी जिल्ला स्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा बकैया गाउँपालिका र भीमफेदी गाउँपालिका बिजयी भएको छ । आज भएको पहिलो खेलमा बकैयाले कैलाशलाई शुन्यका बिरुद्ध दुई गोल र दोस्रो खेलमा भीमफेदीले राक्सिराङ गाउँपालिकालाई एकको बिरुद्ध तीन गोलअन्तरले पराजित गरेका हुन् ।

जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा हेटौंडा–४ स्थित हुप्रचौरमा जारी प्रतियोगिता अन्तरगत पहिलो खेलमा बकैयाले दुबै गोल दोस्रो हाफमा गरेको थियो । निर्धारित ८० मिनेटको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको पनी दोस्रो हाफमा बकैयाले सुधारिएको खेल प्रदर्शन गर्दै ७४औं मिनेटमा नवराज तामाङको गोलबाट खेलमा अग्रता लिएको थियो । खेलको अतिरिक्त समयको १ मिनेटमा बकैयाका अभिषेक भ्लोनले गोल गर्दै जीत सुनिश्चित गरेका थिए । खेलको म्यान अफ दि म्याच पहिलो गोलकर्ता नवराज घलान घोषित भए ।

त्यस्तै आजै भएको दोस्रो खेलमा भीमफेदीले राक्सिराङलाई एक का बिरुद्ध तीन गोल गरेर विजयी भएको छ । निकै प्रतिष्पर्धात्मक पहिलो हाफको २०औं मिनेटमा भीमफेदीका सागर थापाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको दोस्रोे मिनेटमै भीमफेदीका सन्दिप गोलेले अर्को गोल गर्दै टिमको जित सुनिश्चित गरे । भने, अतिरिक्त समयको पहिलो मिनेटमा उनले व्यत्तिगत दोस्रो गोल गर्दै भीमफेदीलाई बिजयी बनाए । राक्सिराङको तर्फबाट भने खेलको दोस्रो हाफको २५औं मिनेटमा पुरन ठकुरीले सान्त्वना गोल गरे पनि हारलाई टार्न सकेनन् । खेलको म्यान अफ दि म्याच दुई गोलकर्ता भीमफेदीका सन्दिप गोल घोषित भए ।

प्रतियोगिता अन्तरगत भोली सोमबार दुई खेल हुने छ । भोलीको पहिलो खेल ईन्द्रसरोवर गाउँपालिका र बागमती गाउँपालिका तथा दोस्रो खेल थाहा नगरपालिका र मकवानपुरगढी गाउँपालिका बिच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उपाधि विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ तथा अन्य विधागत खेलाडीले ३ हजार रुपैयाँको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

आजको खेलमा आयोजक जिल्ला समन्व्य समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, अखिल नेपाल फुटबल संघका (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा, जिल्ला समन्वय समितिका सदस्य देवराज रिमाल, राक्सिराङ गाउँपािलकाका अध्यक्ष राजकुमार मल्ल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, फुटबल संघ मकवानपुरका अध्यक्ष टिका लामा लगायतको उपस्थिती रहेकाे थियो ।