संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले हामीहरू आफ्नै व्यवहारका कारण विनाशको बाटोमा रहेको बताउनुभएको छ । जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २७ औँ संयुक्त राष्ट्र सङ्घीय सम्मेलन अर्थात् कोप–२७ को उच्चस्तरीय उद्घाटन समारोहमा उहाँले जलवायु परिवर्तनको असर हरेक दिन बढिरहेको र त्यसको कारण मानिस नै रहेको बताउनुभयो ।
उहाँले जलवायु परिवर्तनका कारण समस्या थपिरहेको भन्दै भन्नुभयो, ‘हामी खुट्टामा एक्सिलेटर राखेर जलवायु नर्कको राजमार्गमा छौँ ।’ उहाँले जलवायुजन्य गतिविधिका कारण भएको हानी–नोक्सानीलाई सम्बोधन गर्नका लागि प्रभावकारी व्यवस्था गर्नुपर्ने र त्यस सम्बन्धमा हुने सहमतिले नै कोप–२७ को सफलता निर्धारण गर्ने बताउनुभयो । महासचिव गुटरेसले जलवायु परिवर्तनको गम्भीर प्रभाव विश्वसामु प्रत्यक्ष रहेको बताउँदै हानी–नोक्सानीको मुद्दा अब कुनै पनि हालतमा लुकाउन नसकिने बताउनुभयो ।
इजिप्टको शर्म एल–शेखमा हिजो आइतवारदेखि सुरु भएको कोप–२७ को वार्ताका लागि तय गरिएको औपचारिक मुद्दाहरूको सूचीमा हानी–नोक्सानीलाई पनि पहिलो पटक समावेश गरिएको छ । जलवायु परिवर्तनसँग जुध्न यो दशक महत्त्वपूर्ण रहेको भन्दै महासचिव गुटरेसले जलवायु परिवर्तनसँगको विश्वव्यापी युद्धमा मानिसको हार वा जित यही दशक वा हाम्रै अगाडि हुने बताउनुभयो ।











