मकवानपुर – नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तरगत बागमती प्रदेशको सभापतिका लागि भएको दोस्रो चरणको मतदान प्रकृया सम्पन्न भएको छ । विभिन्न समस्याका कारण विहान साढे ११ बजेबाट सुरु हुने भनिएको मतदान प्रकृया दिउँसो १ बजेबाट सुरु भएर साँझ साँढे ५ बजे सम्पन्न भएको हो ।
नेपाली कांग्रेसको बिधान अनुसार सभापतिमा कसैको पनि ५१% मत प्राप्त नभए पछि आज पुन मतदान भएको हो । यस अघि शनिबार भएको निर्वाचनमा संस्थापन पक्षका इन्द्र बानियाँ, रामचन्द्र पौडेल पक्षका जगदिश्वर नरसिंह केसी र कृष्ण सिटौला पक्षका भीमसेनदास प्रधान बिच प्रतिष्पर्धा भएको थियो । आज भएको दोस्रो चरणको मतदानमा भने सिटौला पक्षका प्रधानले बानियाँलाई समर्थन गर्नुभएको छ ।
दोस्रो चरणमा आज कुल २ हजार २६ मत खसेको निर्वाचन समितिका संयोजक केशव काफ्लेले जानकारी दिनुभयो । मतदान सकिएलगत्तै मतदान स्थल हेटौंडा–१० स्थित वन विज्ञान अध्यन संस्थान (फरेष्ट्रि क्याम्पस) छिर्ने मुल गेट बन्द गरिएको छ । आज राति ८ बजेबाट मतगणना गर्न छलफल भइरहेको संयोजक काफ्लेले बताउनुभयो । उहाँका अनुसार आज राति प्रदेश सभापतिको मत गणना गर्ने वा उपसभापति लगायत सबै कमिटीको मतगणना गर्ने छलफल भइरहेको छ ।