काठमाण्डौ- ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भीमफेदी–कुलेखानी सुरुङमार्ग छिट्टै निर्माण प्रकृयामा जाने बताउनुभएको छ । ३ नम्बर प्रदेशको नीति तथा योजना आयोगले गरेको विज्ञहरुसंगको छलफल कार्यक्रममा मुख्यमन्त्री पौडेलले हेटौँडा–काठमाडौं सडकअन्तर्गत मकवानपुरको भीमफेदीबाट कुलेखानी सम्म सुरुङमार्ग निर्माण गर्न प्रदेश सरकार दृढ रहेको बताउनुभयो ।
भीमफेदी–कुलेखानीको यात्रा १६ किलोमिटर जोखीमयुक्त रहेकोले साढे ३ किलोमिटर सुरुङ मार्ग निर्माण गरिने उहाँले जानकारी दिनुभयो । भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गरी सडकलाई फराकिलो गर्न सके २ सय २७ किलोमिटर लामो बाटो ५१ किलोमिटरमा झार्न सकिने भन्दै पेट्रोलियम पदार्थको खर्च कम गर्न सकिने धारणा राख्नुभयो । सुरुङमार्ग बनाएर बाँकी बाटो फराकिलो पारिने पनि उहाँको भनाई थियो । मकवानपुरको चुरियामाइमा १ सय २ वर्षअघि नै ४ सय मिटर सुरुङ बनेको जानकारी दिदैं उहाँले हालसम्म किन नेपालमा सुरुङ मार्ग बन्न सकेन भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो– ‘त्यतिबेला अमलेखगञ्जबाट भीमफेदी आउने गाडी त्यहि सुरुङमार्ग भएर आउने गरेका थिए ।’ ‘नेपाली इन्जिनियरले त्यतिबेला बनाएको सुरुङ अहिले पनि जस्ताको तस्तै रहेको भन्दै उहाँले भन्नुभयो ’त्यसपछि खोई त नेपालमा सुरुङमार्ग?’
यस्तै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको पहिलो प्राथमिकता एकीकृत वस्ती विकास कार्यक्रम रहेको जानकारी दिनुभइको छ । एकीकृत बस्ती विना गरिने विकास दिगो हुन नसक्ने भन्दै यसको विषयमा सरकार गम्भिर रहेको बताउनुभयो । सरकारले लक्ष्यअनुसार काम गर्न निरन्तर लागिरहेको बताउनुभयो । बिगतमा विभिन्न कानुनी र व्यावहारिक कठिनाइका कारण काम गर्न समस्या भएपनि अहिले हल हुँदै गरेको उहाँको धारणा थियो ।
यसैगरी मुख्यमन्त्री पौडेलले तीन तहका सरकारबीच समन्वयको अभाव हुँदा योजनामा डुप्लिकेशन भएको भन्दै तालमेल गरेर योजना बनाउनुपर्ने कुरामा उहाँको जोड थियो । विभिन्न समस्याका बाबजुद प्रदेश सरकारले गर्न सकिने र दीर्घकालीन योजना अघि बढाउन चाहेको उहाँको भनाइ थियो । यस्तै प्रदेश सरकारले हेटौंडामा विमानस्थल निर्माण गर्ने र त्यसको तयारी अघि बढिसकेको जानकारी दिनुभयो । दुई पटक विज्ञको टोलीले अनुसन्धान गरिसकेको जानकारी दिदैं अन्तिम अनुसन्धानपछि मात्र विमानस्थल निर्माणको बिषय अघि बढ्ने उहाँले बताउनुभयो ।