चितवन – नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली नै दोहोरिनु भएको छ । १०औं महाधिवेशनअन्तर्गत मंगलबार भएको मतदानमा ओलीले प्रतिस्पर्धी भीम रावललाई फराकिलो मतले पराजित गर्नुभएको हो ।
निर्वाचन आयोगद्वारा प्राप्त परिणाम अनुसार ओलीले १८४० मत प्राप्त गर्नु भएको छ, भने रावलले २२० मत प्राप्त गर्नुभएको छ । जम्मा २१५३ मतदातामध्ये २०९६ जनाले मतदान गर्नुभएको थियो । जसमध्ये ३६ जनाले अध्यक्षका कुनै पनि उम्मेदवारलाई मत दिनु भएन । औपचारिक घोषणा भने केहीबेरमा हुने एमालेको निर्वाचन आयोगले जनाएको छ।
एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट ओली अध्यक्ष र रावल उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो । आठौं महाधिवेशनमा उहाँहरु दुवै जना सोही पदमा पराजित हुनु भएको थियो । आठौंमा उहाँहरु दुवै एउटै प्यानलमा हुनु हुन्थ्यो । नवौंमा भने फरक–फरक प्यानलबाट निर्वाचन लड्नु भएको थियो । ओली २०६५ सालमा सम्पन्न आठौं महाधिवेशनमा झलनाथ खनालसँग पराजित हुनु भएको थियो । त्यतिबेला खनालले ९१३ मत पाउँदा ओलीले ७९६ मत मात्रै प्राप्त गर्नु भएको थियो । २०७१ सालमा सम्पन्न नवौं महाधिवेशनमा भने ओलीले माधवकुमार नेपाललाई पराजित गर्नु भएको थियो । त्यतिबेला ओलीले १०५९ मत पाउँदा नेपालले १००३ मत प्राप्त गर्नु भएको थियो ।
ओलीले दुईपटक चुनाव लड्नु भएका नेताहरु खनाल र नेपाल अहिले पार्टीमा हुनु हुदैन । उहाँहरुसँग निकट रहेका थुप्रै कार्यकर्ता खनाल–नेपालले गठन गरेको पार्टी एकीकृत समाजवादीमा लाग्नु भएको छ । खनाल–नेपालले पार्टी गठन गरेसँगै एमालेमा ओलीको एकछत्र प्रभाव देखिन्छ। जसको पुष्टि अध्यक्षको मत परिणामले पनि गर्छ। ओलीले आइतबार राति आफूलाई अध्यक्षमा प्रस्तावित गर्दै पदाधिकारी र केन्द्रीय कमिटीको सूची प्रस्ताव गर्नु भएको थियो । तर, त्यो प्रक्रियाको आलोचना भएको थियो। साथै विभिन्न पदमा थप उम्मेदवारी परेको थियो । मंगलबार बिहान ४ बजे सुरु भएको मतदान साढे १० बजे सकिएको थियो ।