नामिबिया आईसीसी टी–२० विश्व कप क्रिकेटको सुपर १२ मा प्रवेश गरेको छ । आज शुक्रवार भएको महत्त्वपूर्ण खेलमा आयरल्यान्डलाई आठ विकेटले हराउँदै नामिबियाले अघिल्लो चरणको यात्रा पक्का गरेको हो । आयरल्यान्ड भने प्रतियोगिताबाट नै बाहिरिएको छ ।
आज दुबईको शारजाह क्रिकेट मैदानमा आयरल्यान्डले दिएको एक सय २६ रनको सामान्य लक्ष्य नामिबियाले दुई विकेट गुमाएर नौ बलअघि नै भेटाएको हो । नामिबियाका लागि कप्तान गेरहार्ड इरासमसले अविजित ५३ रन बनाए । त्यस्तै डेभिड विसले १४ बलमा अविजित २८ रन बनाए । बलिङतर्फ आयरल्यान्डका कर्टिस क्याम्फेरले दुई विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डले २० ओभरमा आठ विकेट गुमाएर एक सय २५ रन बनायो । आयरल्यान्डका लागि पल स्टर्लिङले ३८, केभिन ओ ब्रेनले २५ र कप्तान एन्ड्रियु बालबिरनीले २१ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । बलिङतर्फ नामिबियाका जान फ्रायलिङकले तीन र डेभिड विसले दुई विकेट लिए ।