मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरणि पौडेलले सबै जातजातिको भाषा, संस्कृतिको संरक्षणका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ । किराँत देवास राई उत्थान समाज नेपालको आयोजनामा देवास राई भाषासंग समबन्धित देवास राई कृति संगालो र देवास राई लेखनशैली नामक २ वटा पुस्तकको शुक्रबार हेटौंडामा विमोचन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले विविभ जातजाति, भाषा संस्कृति, परम्परा नै नेपालीको पहिचान भएको भन्दै यसको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले हरेक जातजातिको कला, भाषा, संस्कृति, परम्पराको संरक्षणमा उक्त जातजातिले भुमिका देखाउनु पर्ने भन्दै यसमा सरकारको सहयोग रहेने बताउनुभयो । उहाँले राई जातिको रहनसहन, भेषभुषा, कला संस्कृतिलाई बचाइ राख्न र सबैलाई चिनाउने हिसाबले संग्रहालय निर्माणका लागि आवश्यक सहयोग गर्ने समेत बताउनुभयो । नेपाल सानो राष्ट्र भएता पनि धेरै भाषाभाषीको बसोबास रहेको भन्दै उहाँले सबै जातजाती भाषा धर्मको संरक्षण गर्नु सरकारको कर्तव्य रहेको बताउनुभयो । उहाँले नेपालको साझा भाषा नेपाली रहेको भन्दै सबै जातजातीले नेपाली भाषासंगै आफ्नो भाषा जान्नुपर्ने बताउनुभयो ।

नेपालका ९ जिल्लामा २९ वटा भाषिक राई मध्ये किरात देवास जात पनि एक रहेको किरात देवास राई उत्थान समाज नेपालका केन्द्रीय सदस्य प्रमोद कुमार राईले बताउनुभयो । नेपालमा राईको हाल एक लाख भन्दा बढी जनसंख्या रहेको बताउदैं उहाँले विभिन्न जातहरु मध्ये १०औं स्थानमा रहेको बताउनुभयो । आफ्नो पहिचान सहित आफ्नो भाषा, संस्कृति सबै स्थानमा पुर्याउन यी प्रकाशित पुस्तकले थप सहयोग पुग्ने उहाँले बताउनुभयो । पुस्तकमा १२० जनाद्धारा रचित साहित्यिक लेख रचना र राई जातीको वर्णमाला सहित देवास राई शब्द र नेपाली शब्दहरुको संगालो समेटिएको छ ।
किरात देवास राई उत्थान समाज नेपालका केन्द्रीय अध्यक्ष आसमान राईको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद प्रल्हाद लामिछाने, बागमती प्रदेशका पत्रकार महासंघ अध्यक्ष प्रताप विष्ठ, शंकर राई, शेर बहादुर पहरीलगायत समाजका केन्द्रीय सदस्यहरु र जिल्लाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।