भक्तपुर – भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली मनोहरास्थित बिपी बाल आँखा, कान, नाक अस्पताल नजिकबाट प्रहरीले स्रोत नखुलेको ८० लाख रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ । बुधवार राति पक्राउ पर्नेमा बागलुङ गलकोट नगरपालिका–१० पाण्डवखानी स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर बस्ने ३६ वर्षीय चित्र बहादुर पुन रहेका छन् ।
विशेष सूचनाको आधारमा सुरक्षा जाँचका क्रममा पुनलाई बा ४९ प ८५६५ नम्बरको स्कुटरको डिकी भित्र नगद ३० लाख रुपैयाँ लुकाई छिपाई बोकी हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ । अनुसन्धानका क्रममा पुनले आफ्नो कोठामा थप ५० लाख नगद लुकाई राखेको भन्ने खुल्न आएपछि प्रहरीले पुनको कोटेश्वरस्थित कोठामा छापामारी थप रु ५० लाख बरामद गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो । पुनलाई बरामद भएको नगद र स्कुटरसहित थप अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पठाइएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा पुनले गैर कानुनी कारोबार गर्ने गरेको खुल्न आएको सूचना अधिकारी गिरीले बताउनुभयो ।