हेटौंडाः ३ नम्बर प्रदेश सरकारले प्रदेशका स्थानीय तहहरुलाई अत्यावश्यक सवारी खरिदका लागि दिएको रकम फ्रिज नहुने भनेर गरेको निर्णय फिर्ता लिएको छ । प्रदेश सरकारले स्थानीय तहहरुलाई आर्थिक वर्ष २०७५÷०७६ मा अत्यावश्यक सवारीसाधन एम्बुलेन्स, दमकल र शवबाहन खरिदका लागि दिएको रकम फ्रिज नहुने भनेर गरेको निर्णय फिर्ता लिएको हो । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले रकम फिर्ता गराउने निर्णय गरेको छ । यसअघि गत साउन ६ बसेको बैठकले सो रकम फ्रिज नहुने निर्णय गरेको थियो । प्रदेशको निर्णय सार्वजनिक खरिद ऐन अनुसार गलत भएपछि मन्त्री परिषद्को बैठकले फ्रिज हुने निर्णय गरेको हो । मन्त्रिपरिषदको बैठकले अत्यावश्यक सवारी साधन खरिदमा लगिएको र खर्च नभएको रकम तत्काल फिर्ता गर्न स्थानीय तहहरुलाई निर्देशन समेत दिइएको छ ।