मकवानपुर – ‘स्मृति बिम्बमा श्यामप्रसाद’ पुस्तक शनिबार लोकार्पण गरिएको छ । राजनीतिक, साहित्य र पत्रकारिता क्षेत्रमा योगदान पु¥याउनुभएका मकवानपुरका श्यामप्रसाद शर्माको स्मृतिमा उहाँका बिचार समेटिएकाे विभिन्न व्यक्तित्वले लेख्नुभएको कृतिहरुको संगालो ‘स्मृति बिम्बमा श्यामप्रसाद’ पुस्तकको शनिबार लोकार्पण गरिएको हो ।

श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपालले प्रकाशन गरेको पुस्तक बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठसँगै राजनीतिक एवम् सामाजिक व्यक्तित्वले शनिबार हेटौंडामा लोकार्पण गर्नुभएको हो । ६६ जना व्यक्तिका रचनाकाे संगालोको रुपमा प्रकाशित पुस्तकको लोकार्पण समारोहमा श्यामप्रसाद शर्माको व्यक्तित्वका विषयमा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले जानकारी गराउनुभएको थियो । भने, प्राध्यापक घनश्याम घिमिरेले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।

श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष कौशल पाण्डेको अध्यक्षतामा भएको पुस्तक लोकार्पण कार्यक्रममा राजनीतिकर्मी बद्रिप्रसाद खतिवडा, केदार न्यौपाने, बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, मुनु सिग्देल, ओमबहादुर ग्लान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, सहित साहित्यकार, राजनीतिकर्मीको उपस्थिति रहेको थियो । कार्यक्रमका वक्ताहरूले श्यामप्रसाद शर्माले राजनीतिक, साहित्य र पत्रकारिता क्षेत्रमा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो । बि.सं. १९८६ मा मकवानपुरको मन्थली, सोलीथुममा जन्मनुभएका श्यामप्रसाद शर्माको २०७४ साल बैशाख २४ गते निधन भएको थियो ।