मकवानपुर – बागमती प्रदेशकी सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठले गैर सरकारी संस्थाहरूले सामाजिक सेवाको उद्देश्य राखेर काम गर्नुपर्ने बताउनुभएको छ । नारी सीप सृजना केन्द्र २५ औं साधारणसभा, ११ औं अधिवेशन तथा सामाजिक परीक्षण कार्यक्रमको उद्धघाटन गर्नुहुँदै राज्यमन्त्री श्रेष्ठले सामाजिक भावना राखेर काम गर्दा प्रर्याप्त अवसर प्राप्त हुने बताउनुभयो ।

राज्यमन्त्री श्रेष्ठले पहिले सामाजिक क्षेत्रमा काम गर्दा चुनौती र संघर्ष भए पनि हाल सेवा भावले काम गर्दा अवसर धेरै भएको बताउनुभयो । पैसा कमाउने भन्दा पनि सामाजिक भावना राखेर सेवा मुखि काम गर्नुपर्ने उहाँको भनाई थियो । नारी सिप सिर्जना केन्द्रको गरिमालाई कायम राख्दै संस्थागत विकास र कार्यक्षेत्रमा कृयाशिल हुन समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले कागजमा मात्र नभई जनतालाई प्रत्यक्ष लाभ मिल्ने काम गर्न गैरसरकारी संस्थाहरुलाई आग्रह गर्नुभयो । केहि गैरसरकारी संस्थाहरुको गलत कृयाकलापका कारण सबै गैरसरकारी संस्थाहरु बदनाम हुने गरेको भन्दै यस तर्फ ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । गैर सरकारी संस्थाहरु राज्यको सहयोगिका रुपमा काम गर्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष तथा राष्ट्रिय समाबेशी आयोगकी कार्यबाहक अध्यक्ष बिष्णु ओझाले संविधानको मुल मर्म अनुसार समाबेशीता र संघीयतालाई सम्बोधन गर्ने काममा समाबेशी आयोगले काम गर्दै आएको बताउँदै गैससहरूको योगदान पनि यही क्षेत्रमा हुनु पर्ने बताउनुभयो । समावेशी नेपाल निर्माणका लागि लक्षित जाती वा बर्ग भन्दा पनि सम्पन्न वर्गलाई छोडेर बिपन्न बर्गको लागिे काम गर्नुपर्ने बताउनुभयो । जात र लिङ्ग मात्रै हैन वर्गको उत्थानमा लाग्नुपर्ने उहाँको भनाइ थियो ।
केन्द्रकी अध्यक्ष सरस्वती बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउंपालिकाकी उपाध्यक्ष मनिला बिष्ट, हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देल, हेटौंडा उपमहानगरपालिका भीमप्रसाद तिमल्सिना, गैसस बागमती प्रदेशकी उपाध्यक्ष आरती पाठक, गैसस मकवानपुरकी उपाध्यक्ष रमिला सापकोटा, माइती नेपाल मकवानपुरकी प्रमुख माया लामालगायतले सामाजिक विकासको पाटोमा केन्द्रको योगदान रहेको बताउनुभएको छ । कार्यक्रममा उहाँहरुले गैससहरूलाई ठगिखाने निकायको रूपमा लिने गरेको र गैससकर्मीहरूलाई अपमानित व्यवहार गर्ने गरेकोले पीडाबोध भएको गुनासो समेत गर्नुभएको थियो । कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक चिरञ्जीवी पौडेलले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष रेणु गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।