आफूहरूको विजयी यात्रालाई सानातिना धक्काले रोकिँदैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेले १५ सदस्यीय केन्द्रीय पदाधिकारीको व्यवस्था गरेको छ । ललितपुरको गोदावरीमा आज सम्पन्न पहिलो विधान महाधिवेशनले १५ सदस्यीय केन्द्रीय पदाधिकारीको व्यवस्था गरेको हो ।
विधान संशोधनमाथि उठेका प्रश्नको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले अध्यक्ष १, वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्षको सङ्ख्या ५, महासचिव १, उपमहासचिव १ र सचिव ७ गरी १५ सदस्यीय पदाधिकारी हुने जानकारी दिनुभयो । यस्तै एमालेका सबै कमिटीको आधार सङ्ख्या ५० रहने गरी कमिटी सङ्ख्या समेत किटान गरेको छ । प्रदेश कमिटीमा ५० सदस्य आधार रहने र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका आधारमा एक क्षेत्र बराबर ५ जनाको दरले थपिने व्यवस्था गरेको छ । जिल्ला कमिटीमा पनि आधार सङ्ख्या ५० राखेर प्रदेशसभा निर्वाचन क्षेत्रबाट १५ जनाको दरले थपिने, पालिका कमिटीको हकमा ५० आधार सङ्ख्या रहने र प्रत्येक वडाबाट ५ जनाको दरले थपिने गरी कमिटी गठन हुने व्यवस्था गरेको छ । एमालेको केन्द्रीय कमिटी २ सय २५ सदस्यीय रहने र सबै कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गर्ने विधानमा व्यवस्था गरिएको छ । यस्तै पार्टीको स्थायी कमिटी ४५ सदस्यीय हुनेछ ।विधान महाधिवेशनले डा.विजय सुब्बा अध्यक्ष रहेको १५ सदस्यीय पार्टीको केन्द्रीय निर्वाचन आयोग समेत सर्वसम्मतले पारित गरेको छ । विधान महाबिधेशनले सूर्य चिन्हभित्र हँसिया हतौडा रहेको पार्टीको नयाँ लोगो समेत पारित गरेको छ ।

ललितपुरको गोदावरीमा आयोजित पार्टीको विधान महाधिवेशनको अन्तिम दिन राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिनुहुँदै अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथि चौतर्फी हमला भएको बताउनुभयो । उहाँले पार्टीको विचार र सङ्गठनमाथि नै हमला भइरहेको भन्दै आफूहरूको विजयी यात्रालाई सानातिना धक्काले नरोक्ने बताउनुभयो । अध्यक्ष ओलीले एमालेको तात्कालिक कार्यभार सुशासन, विकास, सुविधायुक्त समाज, समृद्धि रहेको बताउँदै देशको सबैभन्दा ठुलो दल र जिम्मेवार दलको नाताले अरूलाई अपजस लगाएर उम्कन नपाउने बताउनुभयो । उहाँले तीन वटै प्रतिवेदनलाई अझ खदिला बनाउन महत्त्वपूर्ण सुझाव आएको र ती सुझाव सहितको दस्ताबेज प्रकाशित गरिने प्रष्ट पार्नुभयो । अध्यक्ष ओलीले प्रचण्ड–माधवले पार्टी एकीकरणको बाटो छाडेर सत्ता गुटबन्दीमार्फत पार्टी ध्वस्त पार्न खोजेपछि आफूले जोगाएको बताउनुभयो । एमालेको मुख्य दुश्मन को हो भन्ने प्रश्न उठेको भन्दै ओलीले जसले कम्युनिष्ट पार्टीको सरकार ढालेर काँग्रेसलाई बुझाए उनीहरू नै जनता र एमालेका दुश्मन भएको बताउनुभयो । उहाँले एमाले कमिटी प्रणाली, सामूहिक नेतृत्वमा विश्वास गर्ने दल भएको भन्दै पार्टीबाट अलग भएका नेता कार्यकर्ताहरूलाई कुनै अन्यौलमा नपरी एमालेमा फर्कन आग्रह गर्नुभयो । अध्यक्ष ओलीले पार्टीलाई हल्लाउन नसक्ने सुदृढ स्थितिमा पुर्‍याएर छोड्ने बताउँदै पार्टीका अगुवा र आफूमाथि देखाएको विश्वासमा एक इन्च पनि तलमाथि हुन नदिने बताउनुभयो । पार्टीको सङ्गठनात्मक प्रतिवेदनमाथि प्राप्त सुझावबारे टिप्पणी गर्दै नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रतिनिधि तहबाट आएका सुझाव समेट्न र व्यवस्थित गर्न टिम बनाइएको र त्यो टिमले सबै खालका सुझाव व्यवस्थित गर्ने र ग्रहण गर्ने विश्वास दिलाउनुभयो । उहाँले पार्टी तथा सङ्गठन उत्पादनसँग जोडिनुपर्ने आवश्यकता औँल्याउँदै राज्यको कानुन, समाजको मूल्य मान्यता, कम्युनिस्ट आचरण र नैतिकतामा पारदर्शी हुनुपर्ने प्रस्ट पार्नुभयो । एमालेको पहिलो विधान महाधिवेशनले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले साङ्गठनिक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत विधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गरेको छ । विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३ सय ४७ प्रतिनिधि सहभागी रहेका थिए ।