काठमाडौँ – राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । बैठक सुरु भए लगत्तै प्रमुख प्रतिपक्षी दलले आफ्ना माग कार्यान्वयन नभएको भन्दै संसद् चल्न नदिने बताएपछि आजको बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको हो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बैठक प्रारम्भ गरे लगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद देवेन्द्र दाहालले अघिल्लो अधिवेशनदेखि नै सदनमा उठाएका मागहरूमा सम्बोधन नभएको भन्दै सदन चल्न नदिने बताउनुभएको थियो । लगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदहरू उठेर अवरोध गरेपछि राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो । उहाँको आग्रहलाई प्रमुख प्रतिपक्षी दलका सांसदहरुले अस्वीकार गरेपछि आज बैठक कार्यसूचीमा नै प्रवेश नगरी अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ का वार्षिक प्रतिवेदनहरू सभा समक्ष पेस गर्ने कार्यसूची रहेको थियो ।