काठमाडौँ । नेकपा एमाले स्थायी कमिटी बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने दस्ताबेजहरूलाई एकरूपताका साथ अगाडि बढाउने निष्कर्ष निकालेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा झन्डै ६ घण्टा बसेको बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत प्रतिवेदन र प्रस्तावमाथि आएका सुझावबारे थप छलफल भएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।
बैठकमा, अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिका विषयमा सकारात्मक ढङ्गले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो । असोज १५ गतेदेखि सुरु हुने विधान महाधिवेशनका लागि केन्द्रिय कमिटी बैठकले पारित गरेको राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान मस्यौदा प्रतिवेदनमाथि स्थायी कमिटी सदस्यहरूले आफ्नो धारणा राखेको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिनुभयो ।