नमस्कार गर्ने र फर्काउनमै २ मिनेट
हेटौँडा : बुधबार नेपालको ३२ जिल्लाको मुख्य शहरमा नेपाल टेलिकमले फोर जी सेवा विस्तार गर्यो। प्रदेश ३ को राजधानी हेटौँडामा पनि नेपाल टेलिकमको परिषरमा भव्य औपचारिक कार्यक्रम भयो। तर, जब प्रधानमन्त्री केपी शर्मा ओलीसहित सातवटै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स भयो प्रदेश ३ का मुख्यमन्त्रीले प्रधानमन्त्रीसहित अन्य मुख्यमन्त्रीले बोलेको कुरा बुझेन्न। मुख्यमन्त्री पौडेलले भिडियो कन्फरेन्स सुरु भएको २ मिनेटसम्म त नमस्कार गर्ने र फर्काउने मात्रै भयो। समारोहका बीच हाई स्पिड इन्टरनेट ‘फोर जी’ सेवाको शुभारम्भमा प्रधानमन्त्रीको कुरा सकेपछि प्रदेश ७ का मुख्यमन्त्रीपश्चात प्रदेश ३ का मुख्यमन्त्री पौडेल बोले। उनले प्रधानमन्त्रीको कुरा नबुझेपछि अलि निराश हुँदै जवाफ फर्काए ‘खै केही बुझिएन, देख्न चाहीँ देखियो।’ प्रधानमन्त्रीले फेरि बोले तर यो चोटी उनले प्रश्न गरे यो भने सुनियो प्रश्न थियो “सुन्नुभएन?” प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत बोल्दै थिए, प्रदेश ३ का मुख्यमन्त्री पौडेलले जवाफ फर्काए “सुन्न त सुने तर केहि बुझिनँ।” त्यसपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दशैं तिहारको शुभकामना दिएको बुझियो बाँकी बुझिएन। फेरि मुख्यमन्त्री पौडेलले सबैलाई एक मुष्ट जवाफ दिए “खै यस्तै हो यता खासै बुझिएन धन्यवाद।” यसरी झ्यार झ्यार उद्घाटन भयो नेपाल टेलिकमको अत्याधुनिक फोर जी। मुख्यमन्त्रीलाई खल्लो लाग्यो फोर जीको भिडियो कन्फरेन्सपछि टेलिकम परिषरमा आयोजित उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले राम्रो तरकारी भए पनि नुन नहाली खाएको जस्तो भएको भन्दै प्रतिक्रिया दिए। उनले प्राविधिक कुरा भएकोले विस्तार ठीक हुँदै जाने बताए। पौडेलले आफू ३ दिनसम्म चिठ्ठी ओसार्ने पुस्ताबाट आएको भन्दै प्रविधिमा नेपालले अझै फड्को मार्ने आशा व्यक्त गरे। उनले सबै मिलेर सुखी नेपाली समृद्ध नेपाल बनाउन प्रविधिलाई सदुपयोग पनि गर्न आग्रह गरेका थिए। नेपाल टेलिकमका क्षेत्रीय निर्देशक अमर नाथ झाको सभाध्यक्षतामा भएको कार्यक्रममा ३ नम्बर प्रदेशका प्रमुख सचिव तोयम राय, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, प्रदेश नम्बर ३ का प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शेरबहादुर बस्नेत, पुरानो गोरख गण सुपारेटारका गणपति अनिष बुढाथोकी, मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंह, शसक्त प्रहरी १४ नम्बर गणका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विकास घिमिरे, विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । नेपाल टेलिकमले ठूला र साना गरी २६ शहरमा बुधबारबाट एकै साथ फोरजी सेवा शुभारम्भ गरेको छ ।
#थाहाखबरबाट