सांकेतिक तस्विर

मकवानपुर – मकवानपुरको बिभिन्न स्थानमा भएको छुट्टा छुट्टै दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । टाटासुमो दुर्घटना, झरना हर्ने क्रममा चिप्लिएर र पानीघट्टमा परेर तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडा–काठमाण्डौं छोटो दुरीको मार्ग अन्तरगत ईन्द्रसरोबर–२ सिमखोलामा यात्रुबाहक टाटा सुमो दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको हो । काठमाडौंबाट यात्रु बोकेर बिरगञ्ज तर्फ आउदै गरेको ना १ ज २११४ नम्बरको सुनौलो यातायातको सुमो सिमखोलामा दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको र ४ जना घाइते भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । घाइते हुनेमा भारत ज्ञानबाद बस्ने १४ बर्षीय रोनक कुमार,सोही ठाउँ बस्ने १७ बर्षीय शंकर कुमार, विशाल कुमार र शिव शक्ति कुमार रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै जिल्लाको इन्द्रसरोवरगाउँपालिका स्थित मोहिनी झरना हेर्न आएका एक जनाको डुबेर मृत्यु भएको छ । पाचथर घर भई हाल काठमाण्डौ नागर्जुन–३ बस्ने अन्दाजी २३ बर्षीय सन्देश राईको चिप्लेर झरनामा जमेको पानिमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै जिल्लाको बकैया गाउँपालिका–१२ धारापानीमा पानी घट्टमा परेर शनिबार साँझ एक बालिकाको ज्यान गएको छ । पानी घट्टमा परेर स्थानिय ७ बर्षीया रोशनी न्यासुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।