मधेस प्रदेश सभाको आज बोलाइएको बैठक नेपाली काँग्रेसको आग्रह सहितको कारणले स्थगित भएको छ । नेपाली काँग्रेसको धनुषा सहितको जिल्लामा फागुन १५ गतेको लागि तय भएको जिल्ला अधिवेशन सहितका अन्य कारणले बैठक स्थगित भएको प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिनुभयो ।
काँग्रेस जिल्ला अधिवेशन र मधेस प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहको आग्रहमा प्रदेश सभाको बैठक सूचना टाँस गरेर फागुन २२ गते दिउँसो २ बजे बस्ने गरी स्थगित भएको छ । बैठकमा मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले प्रहरी विधेयक कार्यान्वयन हुनुपर्ने मागसहित गत माघ २६ गते प्रदेश सभामा दर्ता गर्नुभएको सङ्कल्प प्रस्तावमा छलफल गर्ने कार्यक्रम थियो । सङ्कल्प प्रस्तावका प्रस्तावक मन्त्री साह पारिवारिक कार्यक्रममा सहभागी हुन भारत जानु भएकाले छलफल सम्भव नहुने भएकाले पनि बैठक सारिएको बताइएको छ ।