मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध भएर लागेको बताउनुभएको छ । बागमती प्रदेशको राजधानी हेटौंडा स्थित मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान द्वारा संचालित हेटौंडा अस्पतालमा निर्माण हुन लागेको नयाँ भवनको मंगलबार शिलान्यास गर्नुहुँदै उहाँले गुणस्तरीय स्वास्थ्य उपचार सेवालाई सहजीकरण गर्ने र अस्पताललाई आवश्यक पर्ने उपकरण र चिकित्सकहरू उपलब्ध गराउन प्रदेश सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो ।

प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको लगानीमा हेटौँडा अस्पतालको नयाँ भवन निर्माण हुन लागेको हो । उहाँले हेटौँडा अस्पतालको स्तरोन्नतिका लागि अब प्रदेश सरकारले क्रमशः ५०० शय्या थप गर्ने लक्ष्य लिएको बताउनुभयो । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको २३ करोड २७ लाखको लागतमा पाँच तल्लाको २०० शैयाको अस्पताल भवन आगामी दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गरी अस्पताललाई हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ ।

कार्यक्रममा सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले प्रदेशका १३ वटै जिल्ला अस्पतालमा प्रभावकारी गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल हातामा बृहत् अक्सिजन प्लान्ट जडान, पीसीआर मेसिन र भेन्टिलेटरहरु उपलब्ध गराइएको उल्लेख गर्नुभयो । भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले प्रदेशको १३ वटै जिल्लामा अस्पतालको गुणस्तरीय सेवा अभिवृद्धि गर्न भवन निर्माण गर्नुका साथै पक्की पुल, सडक निर्माण, खानेपानी, विद्युतीकरणका लागि स्थानीय निकायबाट आएका मागअनुसार सरकारले क्रमशः कार्यान्वयन गर्दै लैजाने नीति रहेको बताउनुभयो । भौतिक वूर्वाधार विकास मन्त्रालयका सचिब सञ्जिब बरालको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री रामकुमार अधिकारी, प्रदेशसभा सदस्य जुनेली श्रेष्ठ, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपलीया लगायतकाको आतिथ्यता रहेको थियो ।