मकवानपुर । मकवानपुरमा पछिल्लाे एकसाता देखि भाइरल ज्वरोको प्रकोप बढेको छ । जिल्लाकाे थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा भाइरल ज्वरोको प्रकोप बढेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएकाे छ ।

कार्यालयका अनुसार थाहा गरपालिकाअन्तर्गतका स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक ६० देखि ७५ जनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् ।कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले उपचारका लागि आउने ज्वरोका बिरामीमध्ये दैनिक १२ देखि १७ जनासम्म स्वास्थ्य संस्थामै भर्ना गरी उपचार गरिरहेका जानकारी दिनुभयाे । ज्वरोका केही बिरामीलाई थप उपचारका लागि हेटौँडा अस्पताल र चितवनका अस्पतालमा पठाउने गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै हेटौँडा अस्पतालको आकस्मिक र बहिरङ्ग कक्षमा दैनिक ६५ देखि ७४ जनासम्म ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । हेटौँडा अस्पतालका चिकित्सक रामचन्द्र सापकोटाका अनुसार ती बिरामीमध्ये दैनिक २० देखि ३० जनालाई भर्ना गरी उपचार गरिएको छ । जिल्लाभित्र डेङ्गुको सङ्क्रमण र भाइरल ज्वरो लगायत सङ्क्रमणलाई नियन्त्रण गर्न आवश्यक जनशक्ति सतर्क अवस्थामा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयाे ।