मकवानपुर – मकवानपुरमा पछिल्लो केहि दिन देखि कोरोना संक्रमित बिरामीको संख्या बढ्दै गएको छ । जिल्लामा जारी निषेधाज्ञा खुकुलो भएसंगै भिड्भाड बढ्नुका साथै स्वास्थय सुरक्षाको पालना नहुँदा पछिल्लो केहि दिन देखि दैनिक एक सयको हाराहारीमा संक्रमित थपिदै गएका छन् ।
जिल्लामा पछिल्लो २४ घण्टामा मात्र थप ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ३३ जनाको पिसिआर र ३ सय ६२ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमश ७२ जना र १७ जना गरी ८९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । योसंगै जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १३ हजार ५८४ पुगेको छ ।
यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा थप ९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसंगै हालसम्म १२ हजार ३ सय ४४ जना संक्रमणमुक्त भएका छन् । जिल्लामा हाल सक्रिय संक्रमितको संख्या १ हजार ६३ जना रहेको छ । जसमध्ये ९ सय ९० जना होम आइसोलेसनमा र ७२ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको कार्यलयले जनाएको छ ।
यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा थप दुुई जनाको कोरोनाका कारण मृत्यु भएको छ । एक जना हेटौंडा उपमहानगरपालिका भित्रका र एक जना कैलाश गाउँपालिका भित्रका दुई जनाको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । योसंगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ४५ पुगेको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।