कोरोना भाइरसबाट आज थप एक हजार ७ सय ३ जना सङ्क्रमित भएका छन् । आज १० हजार ४ सय ६० वटा नमुनाको रियल टाइम पिसिआर परीक्षण गर्दा १ हजार ७ जना पुरुष तथा ६ सय ९६ जना महिला गरी जम्मा १ हजार ७ सय ३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट २ लाख २९ हजार ३ सय ४३ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।
यसै गरी आज थप १ हजार २ सय ३६ जना सङ्क्रमण मुक्त भएसँगै कोरोना मुक्त हुनेको कूल सङ्ख्या २ लाख १० हजार ६ सय ७१ पुगेको छ । आज सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना सङ्क्रमण मुक्त हुने दर ९१ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसका कारण आज थप २३ जनाको मृत्यु भएपछि मृतकको कूल सङ्ख्या १ हजार ४ सय ३५ पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार आज देशभर गरी १७ हजार २ सय ३७ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये १० हजार ९ सय ४४ जना होम आइसोलेसनमा रहेका छन् भने बाँकी ६ हजार २ सय ९३ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसन सेन्टरहरूमा रहेका छन् । यसै गरी आज ३ सय ५४ जनाको आइसियु र ५४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।