मकवानपुर– मकवानपुरमा कोरोना भाइरस (काभिड–१९) को नियन्त्रणका लागि सरकारले जारी गरेको लक डाउनका बेला खाद्यान्नलगायत समस्या हुन सक्ने परिवारलाई लक्षित विभिन्न संघ÷संस्था एवम् व्यक्तिले सहयोग गर्दा स्थानीय तहसंग समन्वय गरेर मात्र वितरण गर्नुपर्ने निर्णय भएको छ । कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका सम्बन्धमा आज जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको विशेष उपस्थितिमा बसेको कमाण्ड पोष्टको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले मकवानपुरमा राहत वितरणलाई व्यवस्थित गर्न जिल्लामा कुनै संघसंस्था वा व्यक्तिले सहयोग गर्न चाहेमा स्थानीय तहसंग समन्वय गरेर मात्र वितरण गर्नुपर्ने निर्णय गरेको प्रमुख खुलालले बताउनुभयो । सहायताको नाममा कसैले चन्दा उठाउन नपाउने, वितरणमा दोहोरापना हुन नदिने, जिल्ला समन्वय समितिले स्थानीय वडा कार्यालय अन्य जिल्लाका कार्यालयहरुसँग आवश्यक समन्वय गर्ने निर्णय गरेको प्रमुख खुलालले बताउनुभयो ।
त्यस्तै जिल्ला प्रशासन कार्यालयमा बसेको कमाण्ड पोष्टको बैठकले अत्यावश्यक सामग्री विक्री वितरण गर्दा १ मिटरको दुरी कायाम गर्ने, आपूर्ति व्यवस्थापनको लागि वडा अध्यक्षको संयोजकत्वमा स्थानीय प्रहरीको प्रतिनिधीसहित समिति गठन गर्ने, वडास्तरीय समितिले आफ्नो वडाको रोजागारीको स्थिति र हालको अवस्थामा गुजारा चलाउन नसक्ने व्यक्तिहरुको लगत संकलन गर्ने, त्यस्ता व्यक्तिहरुलाई वडास्तरीय समितिले प्याकेजको सुविधा उपलब्ध गराउने, कोरोना शंकास्पद व्यक्तिहरुलाई अस्पतालबाट क्वारेन्टाइन अथवा आइसुलेसन पठाउन एम्बुलेन्ससँगै आवश्यक परेमा सरकारी गाडि प्रयोग गर्ने, अस्पताल लगायत आइसोलेसन वार्ड स्थापना गरिएको हेटौंडा उपमहानगरको सबै स्थानमा डिस–इन्फेक्सन छर्ने कार्य जिल्ला स्वास्थ्य कार्यालयले हेटौंडा उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र अस्पतालसँग समन्वय गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
त्यस्तै बैठकमा रोजगारीको सिलसिलामा विभिन्न देशबाट चैत १ गतेभन्दा पछि फर्किएका मकवानपुर जिल्लाका ३ सय २६ जना मध्ये ३ सय २२ जना होम क्वारेन्टाइनमा बसेको जानकारी गराइैएको थियो । स्थानीय तहहरुले संकलन गरेको लगत आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको बैठकमा प्रस्तुत भएअनुसार २ जना हेटौंडा एकेडेमीस्थित क्वारेन्टाइनमा र २ जना श्रमिक माविस्थित आइसोलेसन कक्षमा रहेको उल्लेख गरिएको थियो । चैत १ गतेपछि विदेशबाट आएका मध्ये हेटौंडा उपमहानगरपालिकामा १३० जना, थाहा नगरपालिकामा ६८ जना, मनहरी गाउँपालिकामा ६६ जना, ईन्द्रसरोवर गाउँपालिकामा १६ जना, भीमफेदी गाउँपालिका र बकैया गाउँपालिकामा १२÷१२ जना, कैलाश र मकवानपुरगढी गाउँपालिकामा ५÷५ जना तथा राक्सिराङ गाउँपालिकामा १ जना रहेका छन् । उनीहरु सबैलाई स्थानीय तहको समन्वयमा होम क्वारेन्टाइनमा राखिएको जनाएको छ । साथै बैठकले हरेक स्थानीय तहले विदेशबाट आएका व्यक्तिहरु साथै, आफ्नो वडाको नागरिकको रोजगारी र अहिलेको समयमा गुजारा गर्न नसक्ने व्यक्तिहरुको लगत संकलन गर्ने तथा आपूर्ति व्यवस्थापनको नेतृत्व सबै स्थानीय तहले लिने निर्णय समेत गरेको निर्णय गरेको उहाँले बताउनुभयो । बैठकले आइतबार संघीय सरकारका गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकको निर्णय प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको प्रमुख खुलालले जानकारी दिनुभयो ।