हेटौंडा – नेपालमा आज थप ३ हजार ८ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १० हजार ८ सय ८६ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा २ हजार ६ सय ३४ जना तथा ४ हजार ९ सय २२ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा १ हजार २ सय ६ जना गरी जम्मा ३ हजार ८ सय ४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा समीर अधिकारीले जानकारी दिनुभयो ।
यस्तै देशभरबाट गएको २४ घण्टामा १ हजार ९ सय ९३ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ९४ दशमलव ३ प्रतिशत रहेको छ । देशभरि आज कोरोना सङ्क्रमणबाट ३३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ७ सय ९१ पुगेको छ । देशभरिका होम आइसोलेसनमा २६ हजार ६ सय ५२ र संस्थागत आइसोलेसनमा २ हजार ७ सय ९२ जना गरी जम्मा २९ हजार ४ सय ४४ जना सक्रिय सङ्क्रमितले कोरोना सङ्क्रमणको उपचार गराइरहेका छन् । जसमा आइसियुमा ६ सय ११ जना र भेन्टिलेटरमा १ सय ६८ जनाले उपचार गराइरहेको मन्त्रालयका सह प्रवक्ता डा। समीर अधिकारीले जानकारी दिनुभयो ।