मकवानपुर – बागमती प्रदेश का मुख्यमन्त्री डोरमणि पौडेलले बागमती प्रदेश अब डिजिटल युगमा प्रवेश गरेको बताउनुभएको छ । शुक्रबार प्रदेशको राजधानी हेटौंडामा सवारी साधनको राजश्व संकलनका लागि अनलाइन सेवा (अनलाइन मार्फत राजश्व भुक्तानी प्रणाली) को सुरुवात गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
मुख्यमन्त्री पौडेलले प्रदेशको प्रमुख आय स्रोतको रुपमा रहेको सवारी साधनको राजश्व सहजरुपमा दाखिला गर्ने व्यवस्था मिलाएर आयको स्रोत सुरक्षित र व्यवस्थित गर्न खोजिएको बताउनुभयो । अनेकौं चुनौतिका बाबजुत प्रदेश सरकारले डिजिटल प्रणालीलाई प्रयोगमा ल्याएको उहाँको भनाई थियो ।
कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जीव पराजुलीले प्रदेश सरकार मातहतका ६ वटा यातायात व्यवस्था सेवा कार्यालयका प्रमुखहरुसँग कार्यसम्पादन करार समेत गर्नुभएको थियो । मन्त्रालयले सार्वजनिक गरेको प्रणालीमा आफ्नो सवारी साधनको विवरण प्रविष्ट गरेर सेवा प्रवाहलाई सहज बनाउन सेवाग्राहीलाई सचिव पराजुलीले आग्रह गर्नुभएको छ ।
रावश्व संकलनको प्रक्रिया सहज बनाउनुका साथै बिचौलियाको भूमिका हटाउने अपेक्षासहित अनलाइन प्रणाली विकास गरिएको हो । देशभरका सवारी साधनमध्ये झण्डै ४७ प्रतिशत सवारी साधन बागमती प्रदेशमा मात्रै रहेको जानकारी गराउनुहुँदै करिब साढे १६ लाख सवारी धनीले अनलाइनमार्फत राजश्व रकम दाखिला गर्न पाउने बताईएको छ । अनलाइनमार्फत राजश्व भुक्तानी गरेर भुक्तानीको विवरण र क्युआर कोड समेत प्राप्त हुने भएकोले उक्त पत्र लिएर हिँड्दा बिलबुक लिएर हिँड्नुपर्ने झन्झट पनि हट्ने अपेक्षा छ । कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, मन्त्रालयका सचिवहरुको पनि उपस्थिति रहेको थियो ।