हेटौंडा- ३ नम्बर प्रदेश सरकारले प्रदेशका सामुदायिक विद्यालयहरुमा “एक विद्यार्थी, एक बिरुवा” कार्यक्रम सुरु गरेको छ । संविधान दिवसको अवसर पारेर हेटौंडा उपमहानगरपालिका–८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयबाट मुख्यमन्त्री डोरमणि पौडेलले शनिबार कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रमको उदघाटन गर्दै मुख्यमन्त्री पौडेलले वृक्षारोपण औपचारीकतामा मात्र सीमित नराख्न आह्वान गर्नुभएको छ । उहाँले वृक्षारोपणबाट प्रतिफल आउने गरी काम गर्न निर्देशन समेत दिनुभएको छ । विगतमा एकै ठाउँमा वृक्षारोपण गरेर प्रतिफल नआएको जस्तो सरकारको कार्यक्रम नबनो’ मुख्यमन्त्री पौडेलले भन्नुभयो । साथै मुख्यमन्त्री पौडेलले वृक्षारोपणमा फलफूलका बिरुवामा जोड दिन मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

चन्द्रोदय माविबाट सुरु भएको कार्यक्रम प्रदेश ३ का सबै सामुदायिक विद्यालयहरुमा लागु गर्ने उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ । चन्द्रोदय माविमा एभोकार्डो, लिची, अम्बा, आँप, कटहर, अमला, तेजपात, नास्पाती, हलुवाबेद, रुद्राक्ष लगायतका फलफूल सहितका २ सय वटा बिरुवा रोपिएको छ । सरकारले २ लाख रुपैयाँ खर्च गरेर बगैंचासहितको बिरुवा रोपेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अच्युत उपाध्यायले जानकारी दिनुभयो ।

विद्यालय हरीत कार्यक्रममा एक विद्यार्थी एक बिरुवाका लागि मन्त्रालयले १५ डिभिजन कार्यालयमार्फत १३ जिल्लामा १३ हजार २ सय बिरुवा रोप्ने लक्ष्य लिएको सचिव शिवकुमार वाग्ले जानकारी दिनुभएको छ । कार्यक्रमका लागि मन्त्रालयले २६ लाख ४० हजार बजेट छुट्याएको छ । साथै बिरुवा संरक्षणको जिम्मेवारी सामुदायीक विद्यालयमा अध्यनरत विद्यार्थीलाई नै दिईने समेत उहाँले जानकारी दिनुभयो । कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपाल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेल, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीलगायतले वृक्षारोपण गर्नुभएको थियो ।