हेटौंडा– बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले विद्युतीय सवारी सञ्चालनमा अवरोध भइरहेको सुन्दा शिक्षित युवा पुस्ता अचम्मित भएको बताउनुभएको छ । उहाँले वातावरणलाई गम्भिर असर गर्ने पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई विस्थापित गरि वातावरण मैत्री नवीकरणीय उर्जाबाट चल्ने सवारी सञ्चालन गर्ने काममा अवरोध गरिए भावीपुस्ताप्रति अन्याय हुने बताउनुभयो ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री फुयालले प्रदेश सरकारले हरित प्रदेशको अवधारणाअनुरुप वातावरणमैत्री विद्युतीय बस सञ्चालन गरेर स्वच्छता अभियानको उद्घोष गर्न लागेकोले यसमा साथ दिन सबै पक्षलाई आह्वान गर्नुभयो । मन्त्री फुयालले विद्युतीय बस खरिद, पूर्वाधार निर्माण तथा सञ्चालनका हरेक क्रियाकलापहरु पारदर्शी हिसाबले हुने भन्दै अन्य कुनै बहाना वा कारण देखाएर रोक्नु नहुने धारणा राख्नुभयो । “हामी सरकारी जग्गामा स्थानीय तह तथा विद्युत प्राधिकरणसँगको समन्वयमा चार्जिङ्ग स्टेसन निर्माण गर्छौ, यसमा कसैले वाधा व्यवधान गर्नुहुन्न, यदी कसैले त्यस्तो गरे त्यहाँका स्थानीय विकास पे्रमि नागरिकहरुले त्यस्ता क्रियाकलापको विरोध गर्नेछन् । विकास विरोधी गतिविधि कसैले गर्नुहुन्न भन्ने हाम्रो बुझाई छ ” उहाँले भन्नुभयो ।
धादिङमा प्रदेश सरकारले निर्माण गर्न लागेको चार्जिङ्ग स्टेसनलाई लक्षित गरेर प्रदेश सरकारका पूर्वमन्त्री शालिकराम जम्कट्टेलले कुनैपनि अवस्थामा स्टेसन बन्न नदिने भन्ने अभिव्यक्ति दिएको प्रति लक्षित गर्दै मन्त्री फुयालले सरकारको उद्देश्य र योजनामा पूर्वमन्त्रीलाई सहमत गराएर पहिला धादिङमै स्टेसन बनाइने बताउनुभयो । मन्त्री फुयालले सरकारले हेटौंडा, भरतपुर, नुवाकोट, बालाजु नयाँ बसपार्क, धुलिखेल तथा काठमाडौंका दुईवटा यातायात व्यवस्था कार्यालय लगायतका स्थानमा चार्जिङ मेसिन राखि सुविधा सम्पन्न विद्युतीय बस सुलभ भाडा दरमा प्रदेशवासीको लागि सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।