हेटौंडा – नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु मकवानपुरले राजनीतिक निकासका लागि ताजा जनादेशको माग गर्दै हेटौंडामा प्रदर्शन गरेको छ । संबिधानको सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि ‘वि वान्ट इलेक्सन’ भन्दै अनेरास्ववियु मकवानपुरले आज हेटौंडाको बुद्धचोकमा प्रदर्शन गरेको हो ।

विद्यार्थीहरूले ‘वि वान्ट इलेक्सन’ (हामी चुनाव चाहन्छौं) को नारा लगाएका थिए । अनेरास्ववियु मकवानपुरका संयोजक विशाल पौडेलले संवैधानिक सर्वोच्चता, दलीय व्यवस्थाको सुनिश्चितता, लोकतन्त्रको रक्षा, निर्वाचनको वातावरण नविथोल्न तथा निर्दलीयताको वकालत गरिरहेका दलहरुलाई प्रतिगमनको मतियार नबन्नका लागि खबरदारी गर्दै अनेरास्ववियु मकवानपुर जिल्ला कमिटीले प्रदर्शन गरेको बताउनुभयो । ‘राजनीतिक अस्थिरता, निर्दलीय सोच र प्रवृत्तिविरुद्ध एकजुट बनौं, ताजा जनादेशको पक्षमा जनमत सिर्जना गरौं’ भन्ने नारासहित अनेरास्ववियु सडकमा उत्रेको केन्द्रीय सदस्य किशन घिसिङ्गले बताउनुभयो । अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिबारे समेत सरकारको ध्यानाकर्षण गराएको केन्द्रीय सदस्य घिसिङ्गले जानकारी दिनुभयो ।