मकवानपुर – मकवानपुर प्रहरीले १ हजार ६ सय ४६ ट्याब्लेट लागूऔषध नाइट्रोभेटसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले गएराति हेटौंडा–१५ बाट १४९६ ट्याबलेट नाईट्रोभेटसहित दुई जनालाई र सोमबार हेटौंडा–४ स्थित पूर्व–पश्चिम सडकखण्डबाट १५० ट्याबलेट नाइट्रोभेटसहित ४ जनालाई पक्राउ गरेको हो ।
गएराति बाराबाट हेटौंडा तर्फ आउँदै गरेका दुई जनालाई १४६९ पिस लागूऔषध नाइट्रोभेट ट्याब्लेटसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । हेटौंडा–१५ स्थित पिपल चौतरा स्थित पूर्व पश्चिम राजमार्गमा बा ९५ प ७९३२ नम्बरको मोटरसाइकल चेकगर्दा चितवनको कालिका नगरपालिका १ बस्ने २३ बर्षीय रवीन बिक र २२ बर्षीय अर्जुन श्रेष्ठलाई १४९६ ट्याबलेट लागूऔषध नाईट्रोभेटसहित पक्राउ गरेको हो ।
यसैगरी हेटौंडा–४ स्थित पूर्वपश्चिम राजमार्गबाट लागूऔषध कारोबार गर्दागर्दै हेटौंडा–१० का २३ बर्षीय विवेक न्यौपाने, हेटौंडा–५ का १९ बर्षीय एडी चौधरी, काभ्रे नमोबुद्व नगरपालिका घर भई हेटौंडा–५ बस्दै आएका २० बर्षीय सुरज लामा र सिन्धुली मरिन गाउँपालिका घर भई हाल हेटौंडा बस्ने २३ बर्षीय विशाल कुमार वाईबालाई १५० ट्याबलेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले बताउनुभयो ।