मकवानपुर – बागमती प्रदेश सभाको बैठक अर्को सुचना नभएसम्मका लागि स्थगित भएको छ । प्रतिपक्षी दलहरुको अवरोधका कारण गत शनिबारदेखि सुचारु हुन नसकेको बैठक सोमबार दिउँसो एक बजेका लागि आहृवान गरिएको भएपनि विपक्षी दलका सांसदहरुले विरोध जनाएसँगै सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि प्रदेशसभाको बैठक स्थगित गर्नुभएको हो ।
प्रदेश सरकारले ल्याएको बजेटप्रति प्रमुख प्रतिपक्षी दलसहितका विपक्षी दलहरुले असहमित जनाउँदै आएका छन् । सोमबार पनि प्रदेश सभाको बैठक अघि बढ्न नपाउँदै विपक्ष दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ल्याएको बजेटप्रति असहमति प्रकट गर्नुभएको थियो ।
प्रतिपक्षी दलहरुको विरोधका कारण बजेटमाथिको छलफल अगाडि बढ्न सकेको छैन । विपक्षीको अवरोधका कारण शनिबारदेखि प्रदेशसभाको बैठक लगातार प्रभावित भइरहेको छ । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, प्रतिपक्षी दल नेपाली कांग्रेस, विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी र राप्रपाले बजेटलाई लक्ष्यहीन, असन्तुलित र अमूर्त भन्दै टिप्पणी गरिरहेका छन् । सोमबार विपक्षी दलहरुले उठाएको विभिन्न विषयमा सरकारले सदनमा जवाफ दिने कार्यतालिका भएपनि बैठक सञ्चालनमा विपक्षीहरुले अवरोध सिर्जना गरेसंगै सभामुख श्रैष्ठले अर्को सुचना नभएसम्मका लागि स्थगित गर्नुभएको हो ।