हेटाैंडा – नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको शुक्रबार बसेको बैठकमा बजेटको पक्षमा उभिन आफ्ना सांसदहरुलाई आग्रह गरिएको छ । प्रदेशका मुख्यमन्त्री एबम् दलका नेता डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठक सरकारले प्रस्तुत गरेको बजेटमाथि केन्द्रित रहेको थियो ।
बैठकमा नेता राजेन्द्र पाण्डेले तुलनात्मक रुपमा आव २०७८÷७९ को बजेट सन्तुलित रुपमा आएको बताउनुभयो । बजेट सन्तुलित बनाउन सरकारले विशेष भुमिका निर्बाह गरेको बताउनुहुँदै उहाँले प्रस्तुत बजेटमा केहि कमी कमजोरी भए सच्याउन सकिने बताउँदै आगामी दिनमा सच्याउँदै अगाडि बढ्न सकिने धारणा राख्नुभएको थियो । सरकारले धेरै राम्रा काम गरेको र त्यसको बिषयमा प्रदेश सभामा बजेट माथिको छलफलमा र बजेट सन्तुलितरुपमा रहेकोले यसको पक्षमा उभिन एमालेका प्रदेश सभा सदस्यहरुलाई नेता पाण्डेले आग्रह गर्नुभयो ।
यसैगरी प्रदेशमा प्राकृतिक प्रकोप बाढी पहिरोबाट मानविय तथा भौतिक क्षति भएकोप्रती दलले दुख व्यक्त गरेको छ । प्राकृतिक प्रकोपबाट मृत्यु भएका ब्यक्तिहरुप्रती हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै सरकारले गरेका राहत तथा उद्दारका कार्यको प्रशंसा गरेको छ । यसैगरी बैठकले मानब विकास सुचांकमा बागमती प्रदेशको सबै भन्दा पछाडि १ सय १९ औं स्थानमा रहेको रुबिभ्याली गाउँपालिकाको केन्द्र सेतुङ्गसम्म सडक पुर्याउने लक्ष्यका साथ सडक निर्माण गर्ने सरकारी कामको क्रममा पहिरो खसी दुर्घट्नामा डोजरका अपरेटर र सहचालक राजु पराजुली र जोजो तामाङको मृत्यू भएको र मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजनप्रति गहिरो समबेदना प्रकट गर्दै मृतकको परिवारलाई सहयोग गर्न बागमती प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेकोे मुख्य सचेतक दीपक निरौलाले जानकारी दिनुभयो । बोल्ने क्रम नसकिएकोले शनिबार बिहान ८ बजे बस्ने गरी बैठक स्थगन भएको समेत उहाँले जानकारी दिनुभयो ।