मकवानपुर – मदन भण्डारी फाउण्डेशन मकवानपुरले ७०औं मदन जयन्तीका अवसरमा सोमबार विशेष कार्यक्रमको आयोजना गरेको छ । फाउण्डेशनले हेटौंडा–११ स्थित शहिद स्मारकमा बिशेष कार्यक्रमको आयोजना गरेर मदन जयन्ती मनाएको हो ।

फाउण्डेशनका जिल्ला अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा मदन भण्डारीको शालिकमा पुष्पगुच्छा अर्पण गरेर श्रद्धासुमन अर्पण ग।िरएको थियो । कार्यक्रममा मुख्यमन्त्री पौडेलले मदन भण्डारीको सिद्धान्तलाई अनुकरण गर्दै उहाँले देखाउनुभएको बाटोमा अगाडी बढ्नु पर्ने बताउनुभयो । उहाँले मदन भण्डारीकै बिचारले नेपालमा कम्युनिष्ट आन्दोलनले सफलता प्राप्त गरेको र भण्डारीद्वारा प्रतिपादित सिद्धान्त (जनताको बहुदलीय जनवाद) ले नै नेपाली कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गर्न सफल भएको उल्लेख गर्नुभयो ।

सो अवसरमा मदन भण्डारी फाउण्डेशन मकवानपुरका संस्थापक अध्यक्ष श्रीचन्द्र शर्मा पौडेलको स्मृतिमा पुरस्कार स्थापना गर्ने घोषणा गरिएको छ । फाउण्डेशनका अध्यक्ष खुलालले लोकतान्त्रिक आन्दोलनमा फाउण्डेशनका संस्थापक अध्यक्ष शर्माको योगदानलाई जिवन्त राख्न “श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार” स्थापना गर्ने घोषणा गर्नुभयो । शहिद स्मारकमा भएको मदन भण्डारीको शालिकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, सामाजिक विकास मन्त्री सरस्वती बस्नेत, प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ, जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलाल, एमाले केन्द्रिय सदस्य रामेश्वर राना, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, बागमती प्रदेश युवा परिषदका कार्यवाहक उपाध्यक्ष सन्तोष चौलागाई, मदन भण्डारी स्पोर्ट ऐकेडेमिका केन्द्रिय सदस्य नविन सिग्देल लगायत नेता कार्यकर्ताहरुले पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।