मकवानपुर, माघ २० । पछिल्लो साता उज्यालो नेपाल पार्टीप्रति मकवानपुरवासीहरूको ध्यान उल्लेखनीय रूपमा केन्द्रित भएको छ। स्थानीय नागरिकहरूका अनुसार अब नयाँ वा पुराना जुनसुकै दल भए पनि केवल कुरा र गफमै सीमित हुनेहरूलाई भोट नदिने स्पष्ट धारणा बनिरहेको छ। यसपटकको निर्वाचनमा कामको अनुभव, सक्षमता र योग्यताको आधारमा उम्मेदवार चयन गर्ने मनोवृत्ति बलियो बन्दै गएको देखिन्छ।

स्थानीय जनमत अनुसार उज्यालो नेपाल पार्टीका अगुवा कुलमान घिसिङ, मकवानपुर क्षेत्र नं. १ का उम्मेदवार इन्जिनियर सुरेन्द्र लामा (योञ्जन) तथा क्षेत्र नं. २ का उम्मेदवार डा. प्रबिन कुमार स्यागंतान जिल्ला र देशको सही विकासका लागि अब्बल नेतृत्व दिन सक्ने पात्रका रूपमा हेरिएका छन्। यी उम्मेदवारहरूको काम गर्ने शैली, पेशागत क्षमता र स्पष्ट दृष्टिकोणका कारण जनतामा भरोसा बढ्दै गएको स्थानीयहरू बताउँछन्।

जनउत्साहसँगै पार्टीको संगठनात्मक संरचनासमेत तीव्र रूपमा विस्तार भइरहेको छ। हेटौंडा नगरपालिकाअन्तर्गत वडा नं. १६ भित्र मात्रै तीन वटा वडा कमिटी र दुई वटा टोलस्तरीय कमिटी गठन भइसकेका छन्। यसका साथै वडा नं. १३, १४, १५, ६ र ७,५ मा पनि क्रमिक रूपमा पार्टी संरचना विस्तार हुँदै गएको जनाइएको छ।

त्यस्तै, नगरपालिका बाहिरका ग्रामीण क्षेत्रमा समेत उज्यालो नेपाल पार्टीप्रतिको आकर्षण बढ्दो क्रममा छ। बागमती गाउँपालिका, बकैया गाउँपालिका र गढी गाउँपालिकामा पनि स्थानीय जनताले सक्रिय चासो देखाउँदै पार्टीप्रति समर्थन जनाइरहेका छन्। समग्रमा, मकवानपुरमा ‘गफ होइन, काम र परिणाम’ को राजनीतिप्रति जनअपेक्षा बलियो बन्दै गएको र त्यसको प्रतिबिम्ब उज्यालो नेपाल पार्टीप्रतिको बढ्दो आकर्षणमा देखिन थालेको स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ।