काठमाण्डाै – अर्थ मन्त्री जनार्दन शर्माले सरकारले देश र नागरिकको हित विपरीत कुनै पनि सन्धि, सम्झौता नगर्ने बताउनुभएको छ । एमसीसी सम्झौताका विषयमा सांसदहरूले राखेका प्रश्नको जवाफ दिँदै अर्थ मन्त्री शर्माले सम्झौतामा प्रष्ट नभएका विषयमा व्याख्यात्मक घोषणा गरेर पारित गर्ने र देशको हित विपरीतका कुनै पनि प्रावधान सम्झौतामा नरहने बताउनुभयो ।
नेपालको संविधान र कानुन नै नेपालले मान्ने भन्दै अरू देशको कानुन नेपालले नमान्ने उहाँले बताउनुभयो । ‘राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता र अखण्डता सबैका लागि महत्त्वपूर्ण विषय हो । सरकार प्रतिबद्ध छ, सरकारले कुनै पनि गलत सम्झौता गर्न सक्दैन । नेपाल सैन्य रणनीतिमा रहन सक्दैन, नितान्त देशको हितमा आर्थिक सहायता मात्रै लिन्छ’, अर्थ मन्त्री शर्माले भन्नुभयो ।