मकवानपुर, माघ १९ । मकवानपुर प्रहरीले जिल्लाको उत्तरी भेगमा अवैध रूपमा गरिएको लागूऔषध गाँजा तथा अफिम खेती फडानी गरी नष्ट गरेको छ ।
प्रहरीका अनुसार कैलाश गाउँपालिका वडा नम्बर १, २, ५, ६, ७ र ८ का विभिन्न स्थानमा फैलिएको करिब २ बिगहा क्षेत्रफलको गाँजा र १२ बिगहा क्षेत्रफलको अफिम खेती फडानी गरी नष्ट गरिएको हो ।
यहि माघ १६ गतेदेखि १८ गतेसम्म बागमती प्रदेश प्रहरी गण हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी कार्यालयहरूबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले कैलाश गाउँपालिकाभित्र विभिन्न स्थानमा गरिएको अवैध खेती फडानी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
लागूऔषध नियन्त्रण तथा अवैध खेती निरुत्साहित गर्ने उद्देश्यले यस्तो अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ । अवैध लागूऔषध उत्पादन, ओसारपसार तथा कारोबारविरुद्ध प्रहरीको निगरानी र कारबाहीलाई अझ कडा बनाइने समेत प्रहरीले बताएको छ ।









