राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई र प्रधानमन्त्रीले राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मौजुदा मन्त्रिपरिषदमा जनता समाजवादी पार्टीका नेतासहित सात जना मन्त्री र एक जना राज्यमन्त्री थप गरी मन्त्रिपरिषद्को विस्तार गर्नुभएको थियो । विस्तारित मन्त्रीपरिषद्मा गृहमन्त्रीमा खगराज अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापा, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा ज्वालाकुमारी साह, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानियालाई मन्त्री र आशाकुमारी वि।क।लाई वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्री नियुक्त गरिएको थियो । शपथग्रहण पछि नवनियुक्त मन्त्रीहरू कार्यभार सम्हाल्न मन्त्रालय जानु भएको छ ।