हेटौँडा – ग्रामिण असाहय बालबालिका सामुदायिक पुनस्र्थापना केन्द्रले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगतको हेटौँडा अस्पताललाई अक्सिजन खरिदको लागि ९ लाख रुपैँया सहयोग गरेको छ । हेटौँडा अस्पताल परिषरमा पुगेर केन्द्रले एक महिनासम्म दैनिक ५० सिलिण्डर खरिद गर्नेगरि ९ लाख रुपैँया सहयोग गरेको हो । आज १ सय वटा अक्सिजन सिलिण्डर सहित केन्द्रले ९ लाख रुपैँया हस्तान्तरण गरेको हो ।
केन्द्रकी अध्यक्ष सुमित्रा काफ्लेले अस्पताल सञ्चालन तथा ब्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईलाई सो रकम हस्तान्तरण गरेकि हुन् । हस्तान्तरणपछि प्रतिक्रिया दिँदै काफ्लेले यो विषम परिस्थितीमा सबै क्षेत्रबाट सहयोग हुनुपर्ने बताईन् । कोरोनाा संक्रमणले देशलाई समस्या परेको समयमा आफुहरुको सस्थाले साहयोग गरेको भन्दै उनले सबैकुरामा सरकारसँग मात्र भर पर्न नहुने, नागरिक तथा सबै सामजिक संघ सस्थाको पनि दायित्व हुनुपर्ने बताईन् । राज्यको सबै संयन्त्र मिलेमात्र कोरोना संक्रमणलाई पराजित गर्न सकिने भन्दै उनले सबै संघसस्थालाई समेत सहयोगको लागि अनुरोध गरिन् । चेक ग्रहण गर्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार समेत रहेका प्रसाईले केन्द्रको सहयोग हालसम्मकै सबैभन्दा ठुलो सहयोग रहेको बताए ।
मकवानपुरे आम नागरिकहरुले हेटौँडा अस्पताललाई सहयोग गरिरहेको भन्दै उनले सहयोगी हातकै कारण हेटौँडा अस्पतालमा अक्सिजनको अभाव हालसम्म नभएको बताए । दैनिक रुपमा विभिन्न संघ सस्थाको तर्फबाट सहयोग आउने क्रम रहेको भन्दै उनले सहयोगी हातहरुप्रति धन्यवाद समेत दिए । अस्पतालमा रहेका विरामीको लागि दैनिक २ सय ४० वटा सिलिण्डर अक्सिजन आवश्यक रहेको भन्दै उनले हालसम्म सहयोगी दाताहरुको कारण अक्सिजनको अभाव भैनसकेको उनको भनाई रहेको छ ।